चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म (साउनदेखि असोज) मा वाणिज्य बैंकले १३ अर्ब १४ करोड बढीको नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो तीन महिनामा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुको नाफा १८.७८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख ५८ हजार रुपैयाँ नाफा कमाएका थिए । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षका पहिलो तीन महिनाको अवधिमा १५ वटा बैंकको नाफा घटेको छ भने ५ वटा बैंकको नाफा मात्रै बढेको छ । वित्तीय विवरण अनुसार यो अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा आफ्नो मुनाफा २२.९२ प्रतिशतले बढाएर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १४.५७ प्रतिशतले कम हो । यता, प्राइम बैंक सर्वाधिक नाफा आर्जन गर्ने सूचीको तेस्रो नम्बरमा रहेको छ । समिक्षा अवधिमा प्राइमले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २.२० प्रतिशतले कम हो । धेरै नाफा आर्जन गर्ने चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख र पाँचौ नम्बरमा रहेको कुमारी बैंकको २ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
यसअवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने सरकारी कम्पनी राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले आफ्ना नाफा २९५ प्रतिशतले बढाएर ५९ करोड ८७ लाख रुपैयाँ पुराएको हो । पहिलो त्रैमासिकसम्मको अवधिमा नाफा आर्जन गर्ने बैंकहरुमा क्रमशः एनएमबी बैंकको २० प्रतिशतले घटेर ९१ करोड ५९ लाख, हिमालयन बैंकको ३ प्रतिशतले घटेर ७० करोड २८ लाख, स्टान्र्डड चार्टड बैंकको १९.७२ प्रतिशतले घटेर ६९ करोड २१ लाख, नेपाल बैंकको २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख, प्रभु बैंकको ४६.३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख, नेपाल एसबिआई बैंकको ३८.४३ प्रतिशतले घटेर ५० करोड १५ लाख र सानिमा बैंकको १३ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
यता, माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख, लक्ष्मी सनराइजको ३३ करोड २३ लाख, सिद्धार्थ बैंकको ३२ करोड ४० लाख, एनआईसी एशिया बैंकको १२ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ करोड ५० लाख र कृषि विकास बैंकको ५७ लाख ३८ हजार रुपैयाँ रहेको छ । यसअवधिमा सिटिजन्स बैंकको नाफा ऋणात्मक रहेको छ । तीन महिनाको अवधिमा बैंकको नाफा २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस