Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ ?

महेन्द्र शाही

सोमबार, ०५ साउन २०८२, १२ : ३५ मा प्रकाशित

मौद्रिक नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ  ?

चालु आर्थिक वर्षका लागि सार्वजनिक भएको मौद्रिक नीति लचिलो र समय सान्दर्भिक आएको सरोकारावालाहरुले बताइरहेका छन् । निजी क्षेत्रका अधिकांश उद्योगी व्यवसायीहरुले मौद्रिक नीतिको स्वागत गरेका छन् । यसले अर्थतन्त्रमा सुधारको आस गर्न सकिने व्यवसायीहरुको भनाइ छ । तर पूर्व बैंकर तथा अर्थविद्हरुले भने मौद्रिक नीतिकै कारण अर्थतन्त्र सुधार हुने अवस्था नरहेको बताएका छन् ।

अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिले केही सहयोग गरेको भए पनि यसैले मात्रै सुधार हुने अवस्था भने नरहेको उनीहरुको भनाइ छ । अर्थतन्त्र सुधारका लागि अन्य सूचकहरुमा पनि सुधार गर्न आवश्यक रहेको उनीहरु बताउँछन् । मौद्रिक नीतिले बैंकको आधारदर कटौति गरिएको, सेयर धितो कर्जाको सीमा बढाएको अवस्थामा केही सकारात्मक प्रभाव पर्ने भए पनि पूर्ण रुपमा अर्थतन्त्र लयमा आउँछ भन्न सकिने अवस्था नरहेको अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाइ छ । ‘यो नीतिका कारण कर्जा बढ्छ कि बढ्दैन भन्ने मुख्य कुरा हो । नीति हेर्दा केही लचिलो आएको छ,’ उनले भने । अन्य अवस्थामा सुधार नभएसम्म मौद्रिक नीतिले मात्रै अर्थतन्त्र पुरै सुधार हुने सम्भावना नरहेको उनको भनाइ छ । 

सेयर बजारमा केही सुधार देखिए पनि अन्य क्षेत्रलाई मौद्रिक नीतिले मात्रै सम्बोधन गर्न सक्ने अवस्था नरहेको उनी बताउँछन् । अहिले पनि धेरै व्यवसायीहरु कालो सूचीमा परेको अवस्था छ । यसले निजी क्षेत्रका व्यवसायीहरुलाई कालोसूचीमा राखेर अर्थतन्त्रमा सुधार हुन्छ भनेर विश्वास गर्न नकिने उनले बताए ।  

मौद्रिक नीतिले केही क्षेत्रमा सुधार देखिए पनि समग्र अर्थतन्त्रमा भने सुधार हुने अवस्था भने नदेखिएको पूर्व बैंकर भुवन दाहालको भनाइ छ । समग्र अर्थतन्त्रमा सुधार आउनका लागि माग बढ्नु पर्ने भए पनि अहिले त्यो अवस्था नदेखिएको दाहालको भनाइ छ । सरकारले माग बढाउने काममा ध्यान दिनु पर्ने भन्दै त्यसो नगर्दासम्म मौद्रिक नीतिले मात्रै यो अवस्थामा सुधार सम्भव नरहेको उनी बताउँछन् । केही आश गर्न सक्ने अवस्था भए पनि समग्र अर्थतन्त्र नै मौद्रिक नीतिले सुधार हुने अवस्था भने नरहेको उनले बताए । 

मौद्रिक नीति लचिलो आए पनि त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने कुराले अर्थतन्त्रमा असर गर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भक्त हमालको भनाइ छ । ‘मौद्रिक नीति लचिलो आएको छ । यसले धेरै कुरालाई समेट्न खोजेको छ । यसले व्यवसायीहरुमा केही उत्साह पनि थपेको छ । तर यसको कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य कुरा हो,’ उनले भने । जुन रुपमा लचिलो नीति आएको छ सोही अनुसार कार्यान्वयन पनि भएको खण्डमा अवस्थामा सुधार आउने आशा गर्न सकिने उनले बताए । कार्यान्वयनका लागि सरल प्रक्रिया भएमा अर्थतन्त्रमा केही सुधार आउने अपेक्षा गर्न सकिने उनले बताए । 

मौद्रिक नीतिले सेयर बजारमा प्रभाव देखाए अनुसार अर्थतन्त्र पनि सुधार हुनु पर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यको भनाइ छ । तर, अर्थतन्त्रका लागि सबै भन्दा महत्वपूर्ण मानिएको जग्गाका सम्बन्धमा मौद्रिक नीतिले खासै संबोधन गर्न नसकेकाले अर्थतन्त्र सुधार भएर पहिलेको अवस्थामा आउन केही गारो हुने उनको तर्क छ । ‘मौद्रिक नीति पछि सेयर बजारमा त्यसको प्रभाव देखिसकेको छ । घरजग्गाको विषयमा घरका लागि केही सकारात्मक भए पनि जग्गाको विषयमा भने खासै समेटिएको छैन्,’ उनले भने । जग्गामा पनि सहज व्यवस्था गरेको भएको अझ अर्थतन्त्रमा सहज अवस्था आउने उनको भनाइ छ । 

मौद्रिक नीति पनि लचिलो आएको र बैंकको ब्याजदर पनि कम भएको अवस्थामा व्यवसाय गर्नका लागि सहज भए पनि उत्पादन भएको वस्तुका माग नै कम भएको अवस्थामा नयाँ व्यवसाय सञ्चालन गर्ने सम्भावना निकै कम मात्रै रहेको व्यवसायीहरुको भनाइ छ । अहिले सञ्चालन भइरहेको व्यवसाय नै निकै कम मात्रामा चलेको अवस्थामा अहिले थप लगानी गर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको अवस्था छ । 
अहिले आम नेपालको क्रयशक्ति पनि निकै कमजोर भएको अवस्था छ । व्यवसायीहरुले लगानी गर्ने भनेको माग हुने र सोही अनुसार नाफा हुने अवस्थामा  मात्रै नयाँ लगानी हुने व्यवसायीहरु बताउँछन् । अर्को तर्फ वस्तु तथा सेवा उपभोग गर्ने उमेरका नागरिक नेपाल बाहिर रहेकाले पनि उपभोग कम भइरहेको जानकारहरुको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको