ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो अघिल्लो आवको सोही अवधिको भन्दा ७९.५३ प्रतिशतले नाफा बढेको हो ।
वित्तीय विवरण अनुसार यो बैंकले गत आवमा ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो बैंकको यस्तो नाफा ३ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.०१ प्रतिशत बढेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १९.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७२.७९ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २ करोड ८९ लाख रुपैयाँबाट घटेर ६८ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९४.७० प्रतिशत बढेर ६ करोड ७ लाख रुपैयाँ पुुगेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १ पैसा बढेर १२ रुपैयाँ १८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १० रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ ।
५६ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १२ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस