गिरिबन्धु टी इस्टेटका प्रतिनिधिहरूले सरकारले दिएको नभई कानुनअनुसार खरिद गरिएको निजी जग्गालाई नियतबस विवादित बनाउने प्रयास भइरहेको बताएका
छन्। प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा बसेको बैठकमा उक्त कम्पनीका प्रतिनिधिहरूले भूमि खरिद तथा सट्टापट्टा प्रक्रिया पूर्ण रूपमा कानुनी भएको दाबी गरेका हुन्।
कम्पनीका प्रतिनिधि कृष्णप्रसाद भण्डारीका अनुसार भूमि सम्बन्धी ऐन २०२१ को दफा १२(ख)(२) मा स्पष्ट रूपमा उल्लेख छ कि नेपाल सरकारले सूचित आदेशमार्फत तोकेको हदबन्दीको दायराभित्र खरिद गरिएको जग्गा हदबन्दीमा नपर्ने मानिन्छ। 'गिरिबन्धुले चिया खेती तथा उत्पादनका लागि सोही कानुनी प्रावधानअनुसार ३५३ विघा जग्गा खरिद गरेको हो। यो न सरकारले दिएको हो, न अन्य कुनै निकायले। यस्तो दिने कानुन नै छैन,' भण्डारीले स्पष्ट पारे।
उनले थपे, ऐनको मूल व्यवस्थाअनुसार कम्पनीले अधिकतम १० विघासम्म मात्रै जग्गा राख्न सक्ने भए पनि, चिया उद्योगको आवश्यकता हेरी सरकारले ५०० विघासम्म छुट दिन सक्ने व्यवस्था छ। गिरिबन्धुले सोही आदेशअनुसार ३५३ विघा जग्गा खरिद गरेको हो। 'यसलाई सरकारले दिएको जग्गा भन्नु पूर्ण रूपमा तथ्यविपरीत हो,' भण्डारीले भने। त्यस्तै, उनले भूमि ऐनको दफा १२(ग)(२) को हवाला दिँदै भने, यदि कुनै उद्योग वा फार्म अन्य स्थानमा सार्नुपर्ने अवस्था आएमा, सूचित आदेशभित्रको जग्गामा सट्टापट्टा गर्न सकिने कानुनी व्यवस्था रहेको छ।
भण्डारीका अनुसार गिरिबन्धुको प्रारम्भिक चियाबगान क्षेत्र उत्पादनका लागि उपयुक्त नरहेपछि सट्टापट्टा प्रक्रिया अघि बढाइएको हो। 'कम्पनीले स्पष्ट कारणसहित सरकारसमक्ष निवेदन दिई स्वीकृति प्राप्त गरेको थियो,'उनले बताए। तर, उक्त स्वीकृति प्राप्त भएको केही समयमै सो विषय सर्वोच्च अदालतमा मुद्दाको रुपमा पुगेको र संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णयमा केही प्रक्रिया सम्बन्धी त्रुटि देखिए पनि, कानुनी व्यवस्था उपयुक्त रहेको भन्दै शर्तसहित सट्टापट्टा गर्न मिल्ने निर्णय दिएको भण्डारीले जानकारी दिए।
'हामीले सबै कानुनी प्रक्रिया पूरा गरेर सट्टापट्टा गरेका छौं। अब त्यसलाई नियतबस सरकारको अनुदानझैं देखाएर विवाद सिर्जना गर्ने प्रयास गर्नु अन्यायपूर्ण हो,' भण्डारीले समितिमा भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस