सरकारले गत आर्थिक वर्षका लागि राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याएको रकममध्ये साढे १६ अर्ब भन्दा बढी रकम खर्च नभएको पाइएको छ । सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा १८ वटा राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याएको रकममध्ये १६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ खर्च हुन नसकेको हो ।
सरकारले गत आर्थिक वर्षमा गौरवका आयोजनाका लागि ६० अर्ब ७५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
उक्त रकममध्ये ४४ अर्ब ७ करोड २७ लाख रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालको तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा विनियाजन भएको रकमको ७२.५ प्रतिशत मात्रै खर्च भएको छ । महालेखाका अनुसार १८ वटा राष्ट्रिय गौरवका आयोजनाका लागि गत आवमा पुँजीगततर्फ ५७ अर्ब ७१ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकमकध्ये ४२ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजन भएको बजेटको ७२.८३ प्रतिशत हो । यी आयोजनाका लागि चालूतर्फ २ अर्ब ७७ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकममध्ये २ अर्ब ३ करोड ६४ लाख रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा देखिन्छ । यो भनेको विनियोजन रकममध्ये ७३.३४ प्रतिशत हो ।
राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजित बजेटमध्ये दुईवटाले शतप्रतिशत खर्च गर्दा दुईवटा आयोजनाको खर्च भने शून्य रहेको छ । गत आर्थिक वर्षमा पशुपति विकास कोष र लुम्बिनी विकास कोषले भने शतप्रतिशत बजेट खर्च गरेका हुन् । पशुपति क्षेत्र विकास कोषका लागि गत आर्थिक वर्षमा २१ करोड र लुम्बिनी विकास कोषका लागि ४५ करोड बजेट विनियोजित भएको थियो । दुवैको बजेट चालू शीर्षकमा रहेको थियो । त्यस्तै १८ वटा आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बाराको खर्च शून्य रहेको छ । यी दुई आयोजनाका लागि २६ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पोखराका लागि १ करोड र निजगढका लागि २५ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तर उक्त बजेट खर्च नभई ‘फ्रिज’ भएको महालेखाको तथ्यांकले देखाएको छ । त्यस्तै गत आर्थिक वर्षको अन्तिमसम्ममा बबई सिँचाइ आयोजनाले ९९.७ प्रतिशत बजेट खर्च गरेको छ । यो आयोजनाका लाग २ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये २ अर्ब ३७ करोड २६ लाखको वित्तीय प्रगति भएको छ ।
वित्तीय प्रगतिको आधारमा मिलिनियम च्यालेन्स एकाउन्ट नेपाल (एमसीसी)को प्रदर्शन अन्य आयोजनाका तुलनामा कमजोर देखिएको छ । एमसीसीका लागि १३ अर्ब ३६ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन भएको मध्ये २ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो भनेको विनियोजित रकमको १७.४९ प्रतिशत मात्रै हो । राष्ट्रिय गौरवका आयोजनामध्ये गत आवमा काठमाडौं–तराई मधेश फास्ट ट्रयाकको लागि सबैभन्दा धेरै बजेट विनियोजन भएको थियो ।
उक्त आयोजनाका लागि गत आवमा १५ अर्ब ३० करोड ३२ लाख रुपैयाँ बजेट विनियोजना भएको थियो । उक्त आयोजनाले गत आर्थिक वर्षमो उक्त बजेटछको ८७.९४ प्रतिशत खर्च भएको छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको वित्तीय प्रगति ९३.१ प्रतिशत रहेको छ । यो आयोजनाका लागि १ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यस्तै गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाका लागि विनियोजित १ अर्ब ६० करोड रुपैयाँ बजेटमध्ये ८९.३ प्रतिशत खर्च गरेको छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजना (प्रणाली आधुनिकीकरण समेत)लाई विनियोजन गरेको २ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ विनियोजन भएकोमा ६५.३७ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्षमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले विनियोजित बजेटको ९४.४४ प्रतिशत खर्च गर्न सफल भएको छ ।
आयोजनाका लागि २ अर्ब ७ करोड ५६ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यस्तै सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्राप्त गरेको १ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ बजेटमध्ये ७३ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि विनियोजित बजेटको ६०.६८ प्रतिशत मात्र खर्च गरेको छ । यो आयोजनाका लागि ५२ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको थियो । गत आवमा राष्ट्रपति चुरे विकास कोषले कुल विनियोजित बजेटको ८६.९ प्रतिशत, पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग) ९५.३ प्रतिशत, उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी) ९६.६२ प्रतिशत, हुलाकी राजमार्ग (पुलहरु समेत) ९७.२५ प्रतिशत र रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाको ४३.८४ प्रतिशत वित्तीय प्रगति छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस