अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा नेपाली टोलि ३१ रनले पराजित भएको हो ।
जितका लागि १७६ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन मात्रै बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २ रनमै पहिलो विकेट गुमाए पनि प्रतिप्रर्धात्मक लक्ष्य दिन सफल भयो । उसका लागि थोमस रोगर्स र ब्लेक म्याकडोनाल्डले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरे । उच्च स्कोर तर्फ अघि बढेको टोलिलाई नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै केही मात्रामा रोक्ने प्रयास गरे । उनले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएपछि मेलबर्न १७५ रनमा रोकिएको थियो ।
जवाफी ब्याटिङमा नेपालले आक्रामक सुरुवात गरेको थियो । ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन प्रहार गर्दै नेपाललाई चाहिएजस्तो सुरुवात दिलाएका थिए । उनी आउट भएपछि तेस्रो नम्बरमा ल्याइएका भीम सार्की चलेनन् । उनी एक रनमै आउट भए । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि बलियो साझेदारी गर्दै नेपाल केही आशा जगाएका थिए ।
तर कप्तान पौडेलले ३३ रन बनाएर आउट भएपछि नेपाल फेरि दवावमा पर्यो । यद्यपि, नेपालसँग ब्याटरहरुको कमि थिएन । एक इन्डमा आसिफ टिकिरहँदा अर्को इन्डबाट आक्रमण गर्ने नेपालको रणनीति थियो । तर आसिफ दुर्भाग्यपूर्णरुपमा रनआउट भए । कुशल मल्लसँग तालमेल नमिल्दा उनले एकदमै महत्वपूर्ण समयमा विकेट गुमाउनुपर्यो । आसिफले ४९ बलमा १ छक्का र तीन चौकाको सहयोगले ५३ रन जोडेका थिए । छैटौं नम्बरमा आएका दिपेन्द्रसिंह ऐरी १ रनमै आउट भए । उनी खराब फर्मबाट गुज्रिरहेका छन् । कुशल मल्ल पनि ११ रन जोडेर आउ भए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस