अष्ट्रेलियामा जारी टप एन्ड टि–ट्वान्टी सिरिजमा नेपालले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले हाबार्ट हेरिकेन्सलाई आज ६६ रनले पराजित गरेको हो ।
१८१ को लक्ष्य पछ्याएको हाबार्टले १६.१ मा सबै विकेट गुमाएर ११४ रन बनाउन सक्यो । हाबार्टलाई सस्तैमा रोक्ने क्रममा नेपालका नन्दन यादबले ५ विकेट लिए । त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १–१ विकेट लिए । होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए । त्यस्तै चार्ली वाकिमले २८ रन जोडे । जेन कर्टेनले पनि २० रनको योगदान दिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए । आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बमले २५ रनको योगदान दिए ।
होबार्टका निभेथन राधाकृष्णनले २ विकेट, राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले समान १ विकेट लिए । यसअघिका ३ वटै खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो । नेपालले पाँचौं खेल आइतवार मेलबर्न सँग खेल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस