Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको तथ्यांकमा लगातार घट्दै मूल्यवृद्धि, वास्तविकता कस्तो ?

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १२ : १६ मा प्रकाशित

राष्ट्र बैंकको तथ्यांकमा लगातार घट्दै मूल्यवृद्धि, वास्तविकता कस्तो  ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय अवस्था अनुसार मूल्य वृद्धि घटेको देखिन्छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आवको असारमसान्तसम्मको अवधिमा सबै जसो खाद्य तथा सेवाहरुको मूल्य वृद्धि घटेको हो । तर, वास्तविक रुपमा भने बजारमा मूल्यवृद्धि उच्च रहेको छ । 

बजारमा विशेषगरी दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको समयमा केन्द्रीय बैंकले भने मूल्य वृद्धि घटेको तथ्यांक सार्वजनक गर्यो। अहिलेको अवस्थामा खाद्यान्न, तरकारी तथा फलफूल र सेवा क्षेत्रअन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा अत्यधिक मूल्यवृद्धि छ । यस्तोमा राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा वार्षिक औषत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ४.६ प्रतिशतमा सिमित रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.३८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्मको अवधिमा यस्तो मूल्यवृद्धि ५.४४ प्रतिशत रहेको थियो । 

राष्ट्र बैंकका अनुसार २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो । मुद्रास्फीति भनेको कुनै पनि वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु हो । अर्थात् थोरै सामान किन्न पनि धेरै पैसा आवश्यक पर्नु हो । बजारको अवस्था अहिले यही नै छ । तर राष्ट्र बैंकको पछिल्लो तथ्यांकले भने बजारमा वस्तु तथा सेवाको महँगी दर विगतका वर्षमा भन्दा नियन्त्रणमा रहेको देखाएको छ । तथ्यांक अनुसार गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेयपदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहकोे मुद्रास्फीति ६.४७ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ४.०४ प्रतिशत रहेको थियो । यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ३.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१२ प्रतिशत रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ३.२६ प्रतिशत रहेको थियो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिमार्फत भने आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७ प्रतिशत, तराईको ४.१४ प्रतिशत, पहाडको ३.८६ प्रतिशत र हिमालको ४.८९ प्रतिशत रहेको छ । यसको अर्थ सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा देखिएको छ । २०८२ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३२ प्रतिशत, तराईको १.८५ प्रतिशत, पहाडको २.१९ प्रतिशत र हिमालको ३.७५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार ग्रामीण र सहरी उपभोक्ता मुद्रास्फीतितर्फ भने आर्थिक वर्ष २०८१/८२ मा ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क ४.४० प्रतिशत र सहरी क्षेत्रको तीन दशमलव ९४ प्रतिशतले बढेको छ । २०८२ असार महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.४० प्रतिशतले र सहरी क्षेत्रको २.१४ प्रतिशतले बढेको छ । प्रदेशगत उपभोक्ता मुद्रास्फीतितर्फ भने आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशकोे वार्षिक औसत उपभोक्ता मुद्रास्फीति २.४६ प्रतिशत, मधेश प्रदेशको ४.१४ प्रतिशत, बागमती प्रदेशको ३.५७ प्रतिशत, गण्डकी प्रदेशको ३.३२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७० प्रतिशत, कर्णाली प्रदेशको ३.३१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.०२ प्रतिशत रहेको छ । २०८२ असार महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६७ प्रतिशत, मधेश प्रदेशको १.९९ प्रतिशत, बागमती प्रदेशको १.८१ प्रतिशत, गण्डकी प्रदेशको १.७१ प्रतिशत, लुम्बिनी प्रदेशको १.७८ प्रतिशत, कर्णाली प्रदेशको १.८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.७४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । थोक मुद्रास्फीतितर्फ भने आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत थोक मुद्रास्फीति ३.८४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.९२ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.०५ प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ४.४१ प्रतिशत रहेको रहेको प्रतिवेदनमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको