नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोटेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) जारी गरेको छ । बैंकले पछिल्लो चरण बढिरहेको विद्युतीय भुक्तानीलाई व्यवस्थित गर्ने लक्ष्यसहित एसआईपीएस फ्रेमवर्क तयार गरेको हो ।
केन्द्रीय बैंकले जारी गरेको फ्रेमवर्कअनुसार कारोबार सम्पन्न गर्ने समय, कारोबारको ठूलो आकार, वित्तीय बजारका लागि अनिवार्य मानिने पूर्वाधार तथा अन्य भुक्तानी प्रणालीहरूसँगको उच्च अन्तरसम्बन्ध जस्ता आधारमा संस्थाहरूलाई प्रणालीगत महत्त्वपूर्ण सूचीमा समावेश गरिनेछ। फ्रेमवर्कले भुक्तानीको कुल आकारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने प्रणाली, खुद्रा बजारको एक तिहाइभन्दा बढी बजार हिस्सा वा कारोबार संख्याका आधारमा दुई तिहाइभन्दा बढी हिस्सा भएका प्रणालीलाई महत्त्वपूर्णको सूचीमा राख्ने व्यवस्था गरेको छ। त्यस्तै, अन्य भुक्तानी प्रणालीसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रणालीलाई समेत यसै सूचीमा समावेश गरिनेछ।
केन्द्रीय बैंकका अनुसार हाल देशभर ९ वटा भुक्तानी प्रणाली सञ्चालक छन्। तीमध्ये कुन–कुनलाई प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणालीको सूचीमा राख्ने भन्ने निर्णय केन्द्रीय बैंकले गर्नेछ। यसमा,राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अभ्यास र सिफारिसलाई समेत समेटेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस