नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गतल र भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ । हालै विभिन्न सञ्चारमाध्यममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका (नाडा) सम्बन्धमा प्रकाशित समाचारहरूले यस संस्थाबारे अनर्गल भ्रम फैलाउने प्रयास भएकोप्रति हाम्रो गम्भीर भएको भन्दै यस्तो आग्रह गरेको हो ।
नाडाले यी सबै दाबीहरू तथ्यविहीन र निराधार रहेको जनाएको छ । ‘नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढाउँदै आएको छ भन्ने कुरा यस अवसरमा स्पष्ट पार्न चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ । नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भदौ ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकाले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको छ । यस प्रक्रियामा सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको छ। त्यसैले विशेष साधारण सभा बोलाउने निर्णय अवैधानिक वा संस्थाको इमानदारीता माथि प्रहार भन्ने दाबीहरू पूर्ण रूपमा असत्य छन्। यस विषयमा प्राप्त उजुरीका आधारमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो ।
तर, दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि का.जि.प्र.कार्यालयले च.नं. १३० भदौ १५ गतेको पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको छ । सो पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्दछ । यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको छ ।
पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत हुन्। नाडाले कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय गरेको छैन। नेतृत्व चयन र पद हस्तान्तरण, सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाटै हुनेछ भन्नेमा संस्था अडिग छ । यसै सन्दर्भमा, नाडाको अध्यक्ष म करणकुमार चौधरी, यस संस्थामाथि उठाइएका सबै भ्रामक दाबीहरूको खण्डन गर्दै पुनः स्पष्ट पार्न चाहन्छु— ‘म पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको छैन। यदि सबै सरोकारवालाले सहमति जनाउनु भयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु। संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा म दृढ छु ।’
नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको साझा संस्था हो, कुनै व्यक्तिको स्वार्थका लागि प्रयोग गरिने संगठन होइन। संस्थागत सुधार र भविष्यका योजनाहरू पारदर्शि, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयका आधारमा मात्र अघि बढाइने बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस