सनराइज होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले आगामी असोज १२ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा काठमाडौंको कमलादी स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ।
सभामा सार्वजनिक रुपमा सर्वसाधारणलाई सेयर जारी गर्ने, आईपीओ निष्कासन गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई निर्देशन दिने र पूँजी वृद्धिसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ । यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड रुपैयाँबराबरको १०० अंकित दरका २४ लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस