नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरू इमान्दार र समर्पित भएर लागेमा देशभर चुनाव जित्न सकिने दाबी गरेका छन्।
गोरखा जिल्लाको पालुङटारमा आयोजित एक स्मृति सभामा बोल्दै उनले जनताको माओवादीप्रतिको विश्वास अझै बलियो रहेको बताएका हुन्। उक्त कार्यक्रम महान् सहिदहरू सुरेश वाग्ले ‘वासु’, भिमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको सम्झनामा आयोजना गरिएको थियो। प्रचण्डले जनयुद्धका क्रममा गोरखामा १८८ भन्दा बढीले सहादत प्राप्त गरेको र अझै २० जना बेपत्ता रहेको स्मरण गर्दै, ती सहिदहरूको अधुरो सपना पूरा गर्ने दृढता व्यक्त गरे। सहिद सुरेश वाग्ले ‘वासु’ जस्ता उच्च क्षमताका नेताको हत्या पार्टीका लागि ठूलो क्षति भएको भन्दै, उनीहरूको बलिदानकै कारण आज उत्पीडित वर्ग, लिङ्ग र समुदायले अधिकार प्राप्त गरेको उल्लेख गरे।
उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा सहिद परिवारको सम्मान, सत्य निरूपण तथा बेपत्ता आयोग गठन, राहत कोष स्थापना, रोजगार सुनिश्चितता लगायतका काम सम्पन्न गरेको दाबी गरे।
मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका अनुभव साझा गर्दै प्रचण्डले जनतासँगको प्रत्यक्ष संवाद नै अभियानको प्रमुख उपलब्धि भएको बताए। पालुङटारमा औद्योगिक क्षेत्र स्थापना सम्बन्धी चीनसँग भएको सहमति अघि बढाउने विषयमा समेत प्रतिबद्धता व्यक्त गरे। सुशासन, सामाजिक न्याय, नागरिकता समस्याको समाधान, मिटरव्याज पीडितलाई राहत, सामाजिक सुरक्षा विस्तार, विद्युत् तथा व्यापारिक सहकार्य, कृषि क्षेत्रमा प्रविधिको प्रयोगजस्ता विषयहरूलाई उनले आफ्ना सरकारका उपलब्धिका रूपमा प्रस्तुत गरे।
सभामा हितराज पाण्डेलगायत नेताहरूले पनि माओवादी केन्द्र नेतृत्वको सरकार जनताको पक्षमा काम गरिरहेको भन्दै समर्थन जनाए। कार्यक्रममा सहभागी जनसमुदायले सहिदहरूको योगदानलाई अविस्मरणीय बताउँदै माओवादी आन्दोलनप्रति विश्वास व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस