नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो भूमिका परिवर्तन गर्न तयार रहेको कुरा स्पष्ट रूपमा व्यक्त गरिसकेको बताएका छन्।
केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यक्षकै प्रस्तावअनुसार अब महाधिवेशनमार्फत विधि र प्रक्रियाको पालना गर्दै पार्टी नेतृत्व नयाँ पुस्ताले सम्हाल्नुपर्ने धारणा अघि सारिएको दाबी गरे।
उनले भने, ‘अध्यक्षले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो म मेरो भूमिका बदल्छु भनेर। सङ्गठनात्मक रूपमा नयाँ पुस्तालाई अघि सार्छु भनेर। अहिले जेनजी आन्दोलनपछि यो बहस अघि बढेको छ। अब महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस्। विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नुभएको छ। त्यसलाई पार्टीले स्वीकारेर ओपन छलफल गर्छ।’
जेनजी आन्दोलनले ल्याएको तरङ्गलाई आत्मसाथ गरेर जानुपर्ने बताए। पुनले थपे, ‘आन्दोलनको भावनालाई आत्मसाथ गरेर नेतृत्व हस्तान्तरण र नेतृत्वको भूमिकाले परिवर्तन गर्नुपर्छ भन्ने सोचेका हौँ। हामी पुस्तान्तरणको एजेन्डा स्वीर्काछौंँ तर अरू नेताहरूले पनि अध्यक्षमाथि मात्रै प्रश्न गरेर हुँदैन।’
उनले आफ्नो पार्टीले जेनजी पुस्ताको एजेन्डालाई समर्थन गरे पनि पार्टी कार्यालय र नेताहरूको घर जलाइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे छानबिन गर्न माग गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस