नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन्। निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले भनाइ छ। सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनका लागि कुनै भूमिका नखेलेको उनको आरोप छ। उनले सरकार राजनीतिक दलहरूको विरुद्धमा लागिरहेको पनि जिकिर गरे। सरकारले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिविधि अगाडि बढाएको उनको भनाइ छ। सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्छ भन्नेमा शंका पैदा भएको उनले बताए।
‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो। निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो। सरकारले निर्वाचनका लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ,’ उनले भने, ‘त्यसकारण सरकारले न भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्छ।अहिलेसम्मको स्थिति हेर्दा सरकारले त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन। यद्यपि अस्ती राष्ट्रपति कहाँ केही संवाद त भएको छ। तर पनि सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिनुको साथै शान्तिसुरक्षा कायम राख्नुपर्छ। राजनीतिक दलहरूको विरुद्धमा जुन ढंगले प्रतिशोधको भावनाले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ, त्यसले निष्पक्ष, स्वतन्त्र ढंगबाट निर्वाचन हुन्छ भन्नेमा आशंका पैदा गराइराखेको छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस