Like us!
Follow us!
Connect us!
Watch us!

आगजनीप्रति कोमल वलीको आक्रोश : “मेरो सपना खरानी बनाइयो”

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १२ : १६ मा प्रकाशित

आगजनीप्रति कोमल वलीको आक्रोश : “मेरो सपना खरानी बनाइयो”

नेकपा एमालेकी केन्द्रीय नेतृ तथा पूर्वसांसद कोमल वलीले दाङस्थित आफ्नो होटलमा लगाइएको आगलागीप्रति तीव्र आक्रोश व्यक्त गरेकी छन्। उनले यो कार्यलाई योजनाबद्ध अपराध र “युवाको आन्दोलनको आवरणमा गराइएको महापाप” भनेकी छन्।

भर्खरै सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा वलीले आफूले गाउँलाई रोजगारी दिने र स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने उद्देश्यले सञ्चालन गरेको होटल खरानी बनाइएपछि असह्य पीडा भोगिरहेको बताइन्।

“हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो। यो काम आन्दोलन होइन, योजनाबद्ध अपराध हो,” उनले लेखेकी छन्।

वलीले आफ्नो होटल मार्फत करिब ४० स्थानीयले रोजगारी पाएकोमा अब उनीहरूको भविष्य अन्योलमा परेको उल्लेख गरिन्। आगलागीका क्रममा प्रयोगमा रहेका पानी ट्यांकर र टाटा योद्धा गाडी समेत जलाइएपछि यो घटना जनहितविपरीत भएको उनको आरोप छ।

जेन–जी आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै वलीले निर्दोष बालबालिकाले ज्यान गुमाउनु ठूलो पीडा भएको बताइन्। तर आफ्नो होटलमा भएको क्षति आन्दोलनको हिस्सा होइन, अपराध भएको स्पष्ट पारिन्।

“माओवादीहरूले २०६१ सालमा पनि यस्तै गरि मेरो घर लुटेका थिए, बम हानेर जलाएका थिए। अब फेरि त्यही गल्ती नयाँ पुस्ताले जेन–जीको नाममा दोहोर्यायो,” उनले स्मरण गरिन्।

पूर्वसांसद वलीले आफ्नो जीवन इमानदारी र निष्ठामा अडिएको भन्दै आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गरिन्।
“यदि मैले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु,” उनको भनाइ छ।

राजनीतिमा सेवा गर्ने भावनाले प्रवेश गरेको बताउँदै उनले निर्वाचनमा हार्नु आफ्ना लागि हार नभई करिब ३० हजार जनताको विश्वास जित्नु ठूलो उपलब्धि भएको बताइन्।

घटनाका दोषीलाई ढाकछोप गर्न नसकिने चेतावनी दिँदै वलीले भनिन्,
“यो देश बाँकी रहनेछ, कानुनी शासन चल्नेछ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ।”

उनले आफ्नो सपना खरानी बनाउन सकिने तर आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन नसकिने स्पष्ट चेतावनी दिएकी छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको