Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी सुधारका लागि महामन्त्री पद छोड्न तयार : गगन थापा

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, २० : ३९ मा प्रकाशित

पार्टी सुधारका लागि महामन्त्री पद छोड्न तयार : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु र संविधानको रक्षा गर्नु अहिलेको मूल राष्ट्रिय जिम्मेवारी भएको बताएका छन्। उनले पार्टीभित्र आमूल सुधारको आवश्यकता औंल्याउँदै आफू सहर्ष महामन्त्री पद छोड्न तयार रहेको घोषणासमेत गरेका छन्।

भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिबारे विस्तृत धारणा सार्वजनिक गर्दै थापाले स्मरण गराए कि भदौ २५ गतेकै दिन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’अनुसार वैधानिक बाटोबाट समाधान खोज्न आग्रह गरेका थिए। उनीहरूको प्रस्ताव थियो—संविधान तत्काल संशोधन गरी आन्दोलनको मागअनुसार प्रधानमन्त्री नियुक्त गर्ने र त्यसैमार्फत निर्वाचन सम्पन्न गराउने। तर त्यो प्रस्ताव कार्यान्वयन नभएको उनले स्पष्ट पारे।

भदौ २७ गते बसेको कांग्रेस कार्यसम्पादन समितिले सरकारले अपनाएको प्रक्रिया संविधानसम्मत नभएको ठहर गरिसकेको स्मरण गर्दै थापाले अब पार्टीले देशको नयाँ राजनीतिक वास्तविकता स्वीकार गरेर आफ्नो आधिकारिक धारणा तय गर्नुपर्ने बताए। उनले केन्द्रीय सदस्यदेखि प्रदेश र जिल्ला तहका कार्यकर्ताहरूसम्मलाई सम्बोधन गर्दै आगामी बाटोबारे आफ्नो ६ बुँदे प्रस्ताव राखे।

थापाले भनेका छन्—अन्तरिम सरकार गठनसँगै प्रतिनिधि सभा विघटन र तोकिएको समयमा निर्वाचन हुन नसक्दा राजनीतिक मात्र नभई संवैधानिक रिक्तता उत्पन्न हुने भएकाले यसको समाधान ढिलोचाँडो संविधानमै खोजिनुपर्नेछ। अहिलेको परिस्थितिलाई वास्तविकता मानेर कांग्रेसले जिम्मेवार पार्टीको भूमिकामा चुनाव सम्पन्न गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ। तर सरकार मूल दायित्वबाट विचलन भए खबरदारी गर्नुपर्ने चेतावनी पनि उनले दिएका छन्।

उनका अनुसार प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय सरकार कायम रहेका कारण संवैधानिक मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन कांग्रेसले सचेत निगरानी गर्नुपर्ने हुन्छ।

भदौ २३ को राज्यद्वारा भएको दमनलाई कांग्रेसले अक्षम्य ठहर गरिसकेको र दोषीलाई कानुन अनुसार दण्डित गर्न छानबिनमा सहयोग गर्ने थापाले स्मरण गराए। त्यसैगरी भदौ २४ र त्यसपछिका तोडफोड र आगजनीको वास्तविक क्षति मूल्याङ्कन गरी दोषीलाई कारबाही गराउन कांग्रेसले निरन्तर दबाब दिने उनले उल्लेख गरे।

संघीय संरचनामा राजनीति सहज नभए पनि प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तत्काल थाल्नुपर्नेमा थापाले जोड दिए। नागरिक सेवाप्रवाहमा कमी नआओस् भनेर स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्नुपर्ने उनले बताए।

सबैभन्दा महत्वपूर्ण रूपमा थापाले पार्टीभित्र आमूल सुधारको आवश्यकता औंल्याए। उनले भने—“संविधान दिवसकै दिनदेखि पुनर्गठन अभियान सुरु गरौं। सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रिया, मुद्दा र शैली सबैमा आमूल सुधार अनिवार्य छ। केवल अहिलेको निरन्तरताले पार्टीको पुनर्निर्माण सम्भव छैन।” उनले थपे—“पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउन तयार हुनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु।”

थापाले गल्ती भएको स्वीकार गर्न, आत्मसमीक्षा, आत्ममूल्याङ्कन र आत्मसंकल्प गर्नुपर्नेमा पनि जोड दिएका छन्।

उनले पार्टी सभापति शेरबहादुर देउवा लगायत देशभरका कांग्रेस कार्यकर्ता, कार्यालय र लोकतान्त्रिक संस्थामाथि भएका सांघातिक आक्रमणको निन्दा गर्दै हाल उपचाररत सयौं घाइतेहरूको स्वास्थ्य लाभको कामना गरे। आन्दोलनमा ज्यान गुमाएका कलिला युवाहरूलाई स्मरण गर्दै उनले भने—“जलेका संरचनाको पुनर्निर्माण गर्न सकिन्छ, तर गुमेको जीवन फर्किँदैन। निर्दोष युवाको बलिदान खेर जान दिनु हुँदैन।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको