सेयर बजार असोज १२ गते पछि भोलि मात्रै खुल्दै छ । नियमित रुपमा असोज १९ गतेदेखि कारोबार हुनु पर्ने सेयर बजार लगातारको बाढीका कारणले गर्दा थप दुई दिन बन्द भएर मंगलबार मात्रै खुल्दै छ । दशैँ अघिको अन्तिम कारोबार दिन असोज १२ गते सेयर बजार ११ अंकले बढेर बन्द भएको थियो ।
जेनजी आन्दोलन पछि केही दिन बन्द भएर खुलेको बजार पहिलो दिन ६ प्रतिशतको गिरावट आएर बन्द भएको थियो । त्यस पछिका दिनमा भने बजार बढेर कारोबार भएको थियो । दशैँ पछिको ९ औँ दिन खुल्ने बजार कस्तो रहला भन्ने आम चासोको विषय रहेको छ । बजार जेनजी आन्दोलन पछिको जस्तै घट्ला वा बढ्ला भन्ने कौतुहलता छ ।
दशैँ पछि खुल्ने बजारमा धेरै ठूलो कारोबार हुने सम्भावना कम रहेको र परिसूचक पनि केही अंक प्लस माइन मात्रै हुने इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । उनले एक दुई दिन बजार सामान्य रुपमा नै अघि जाने र केही समय पछि गति लिने बताए । सेयर बजारलाई बाढी पहिरोकै कारणले असर गर्ने भन्दा पनि दशैँ मनाउन गएकाहरु नआएका कारणले केही असर पर्ने उनको भनाइ छ । ‘अहिले बजार सामान्य रुपमा नै अघि बढ्छ । ठूलो कारोबार हुने अवस्था पनि देखिदैन । केही अंकको वृद्धि वा गिरावट हुन सक्छ,’ उनले भने ।
यहि बीचमा राष्ट्र बैंकको सुझाब पनि अर्थमन्त्रीलाई बुझाउने र त्यसको कार्यान्वयनले पनि बजारलाई सहयोग पुग्ने उनको भनाइ छ । बजार नराम्रो हुनु पर्ने कुरा कुनै कारण नभएकाले दशैँ लगतै बजारले गति नलिए पनि विस्तारै बजारले गति समात्ने रौनियारको भनाइ छ । सेयर बजारमा बाढी पहिरोले खासै समस्या नपार्ने सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेलको भनाइ छ । उनले जेनजी आन्दोलनको जस्तो नकारात्मक असर बाढी पहिरोका कारणले बजार नपर्ने समेत बताए । उनले असोज मसान्तको केही दबाब भए पनि समग्रमा बजारका लागि दशैँ पछि सकारात्मक रुपमा अघि बढ्ने उनी बताउँछन् । ‘दशैँ पछि बजार राम्रो हुन्छ । बाढी पहिरोले जनेजी अन्दोलनको जस्तो ठूलो असर सेयर बजारमा गर्दैन्,’ उनले भने ।
बाढी पहिरोले केही हाइड्रोपावरमा असर गरेको भए पनि त्यसले समग्र बजारलाई ठूलो असर नगर्ने उनको भनाइ छ । अहिले सेयर बजारमा निर्विकल्प लगानी गर्नु पर्ने अवस्था देखिएको उनी बताउँछन् । बजारका लागि आवश्यक पर्ने सबै सूचक सकारात्मक रहेकाले बजारले गति लिने उनको भनाइ छ । अहिले बैंकको ब्याजदर कम छ । त्यस्तै बजारमा अधिक तरलताको अवस्था रहेको छ । अर्थमन्त्री पनि बजार मैत्री रहेका छन् । यी सबै कारणले बजारले गति लिने उनको फुल्लेलको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस