पुँजी बजार सुधार कार्यदलले दिएका सिफारिसहरू कार्यान्वयनका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक, नेप्से र धितोपत्र बोर्डलाई निर्देशन दिएकोमा नेपाल सेयरधनी संघले सुधारका प्रस्ताव तत्काल लागू गर्न दबाब दिएको छ।
संघका प्रतिनिधिहरूले मंगलबार धितोपत्र बोर्डका अधिकारीहरूसँग भेट गरी कार्यान्वयन प्रक्रियामा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै तत्काल ठोस कदम चाल्न आग्रह गरेका हुन्। संघका एक नेताका अनुसार, “पुँजी बजार सुधार कार्यदलले दिएका सुझावहरू कार्यान्वयनका लागि अर्थ मन्त्रालयले परिपत्र जारी गरेको अवस्थामा थप दबाब दिनको लागि आज धितोपत्र बोर्डमा छलफल गरिएको हो। कार्यान्वयनको लागि आलटाल गरेमा लगानीकर्ताहरूले सशक्त प्रतिरोध गर्ने कुरा समेत जानकारी गराइयो।”
संघले धितोपत्र बोर्ड र नेप्सेमा हाल देखिएको कर्मचारी आन्दोलनका कारण बजार नियमन र सुधार कार्यमा असर परेको भन्दै तत्काल समाधानको पहल गर्न पनि बोर्डलाई आग्रह गरेको छ। बैठकमा संघका प्रतिनिधिहरूले कर्मचारीको समस्या बोर्डले पूर्णरूपमा आत्मसात गरी समाधान गर्न अग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन्।
सेयरधनी संघका अनुसार, सरकारले कार्यदलका सिफारिसहरू कार्यान्वयन गर्न ढिलो गरेमा लगानीकर्ताहरू संयमित रहन सक्ने अवस्था छैन। संघले पूँजी बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गर्न सरकार, धितोपत्र बोर्ड र नेप्सेलाई ठोस निर्णय लिन आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस