आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो ।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । गुल्शन झा २८ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे । कुशल भुर्तेलले २१ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए । जापानका शोमा स्लेटरले २ विकेट लिए । साकुरानो थोमस, साबोरिस रविचन्द्रन र डेक्लान सुजुकीले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए । ११ रनमा पहिलो विकेट गुमाएपछि उनले इसार रहमानसँग मिलेर दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । रहमानले ३१ रन बनाएर आउट भए ।
नेपालका लागि गुल्शन झाले र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए । नेपालले जापानलाई हराएसँगै सुपर सिक्समा २ अंकका साथ सुरुवात गर्ने भएको छ । दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस