अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका सबै आयातित सामानमा १०० प्रतिशत ट्यारिफ (कर) लगाउने घोषणा गरेपछि चीनको राजधानी बेइजिङका नागरिकहरू ले त्यसप्रति खासै प्रतिक्रिया नदेखाएका छन्। उनीहरूले अमेरिकी कदमलाई ‘ट्रम्पको अनिश्चित नीतिको अर्को उदाहरण’ भन्दै चीनको अर्थतन्त्रमा त्यसको ठूलो प्रभाव नपर्ने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार ट्रम्पले आकस्मिक रूपमा घोषणा गर्दै भनेका थिए कि नोभेम्बर १ देखि (वा सम्भव भए यसअघि नै) चीनबाट हुने सबै आयातमा अतिरिक्त १०० प्रतिशत ट्यारिफ लागू गरिनेछ। साथै उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको आगामी भेटवार्ता पनि अनिश्चित भएको बताए।
बेइजिङका बासिन्दाहरू भने यस घटनाबाट खासै प्रभावित देखिएनन्।
४८ वर्षीया सफ्टवेयर कम्पनीकी कर्मचारी लियु मिङ ले एएफपीसँग कुरा गर्दै भनिन् —
“मलाई यो खबर पढ्दा केही पनि महसुस भएन। चीन कुनै पनि अमेरिकी प्रतिबन्ध वा नीतिबाट डराउँदैन। हामीसँग आफैं अघि बढ्ने क्षमता छ।”
उनका अनुसार ट्रम्पका नीतिहरू लगातार बदलिने भएकाले “उनीमाथि विश्वसनीयता राख्न गाह्रो छ”।
त्यस्तै बीमा क्षेत्रमा काम गर्ने इरिन वाङ ले पनि ट्रम्पको नीति अनिश्चित भएको बताइन्। उनले भनिन् —
“ट्रम्प आज एउटा कुरा गर्छन्, भोलि सुतेर उठेपछि अर्कै घोषणा गर्छन्। यस्तो व्यवहारले अमेरिकाकै अर्थतन्त्रलाई असर पार्न सक्छ।”
उनले थपिन्, “चीनका सामानमा उच्च कर लगाउँदा अमेरिकी उपभोक्ताले महँगो तिर्नुपर्नेछ, त्यसैले यसको उल्टो असर अमेरिका मै पर्न सक्छ।”
व्यापारिक क्षेत्रमा काम गर्ने जेसिका यु (४०) ले भने, “आयात–निर्यात व्यवसायमा केही असर पर्न सक्छ, तर सामान्य जनजीवनमा तत्काल ठूलो परिवर्तन देखिन्न।”
उनका सहकर्मी लिसा लियु ले भने, “ट्रम्पको अनिश्चित शैलीले कम्तीमा हामीलाई डिनर टेबलमा कुरा गर्ने विषय त दिन्छ,” भन्दै व्यङ्ग्यसमेत गरिन्।
बेइजिङका धेरै नागरिकहरूले भने दुई देशबीचको सम्बन्ध बिग्रँदै गएकोमा चिन्ता व्यक्त गरे।
जेसिका युले भनिन्, “जति शान्ति रहन्छ, त्यति अर्थतन्त्रले प्रगति गर्छ। हामी चाहन्छौं सम्बन्ध फेरि सामान्य होस्।”
हालसम्म चिनियाँ सरकारले ट्रम्पको ट्यारिफ घोषणाबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
ट्रम्पको यो कदम चीनले हालै घोषणा गरेको rare earth minerals निर्यात नियन्त्रण सँग सम्बन्धित छ। यी धातुहरूबाट स्मार्टफोन, इलेक्ट्रिक कार, रक्षा प्रविधि लगायतका अत्याधुनिक उपकरण बनाइन्छ।
चीनको यो कदमले अमेरिकी उद्योगहरूमा ठूलो असर पार्ने चिन्ता अमेरिकी प्रशासनमा बढेको छ।
ट्रम्पले आफ्नो Truth Social प्लेटफर्ममा लेखेका छन् —“चीनले असामान्य रूपमा आक्रामक व्यापार नीति लिँदै विश्वभर धम्कीपूर्ण पत्र पठाएको छ। त्यसकै प्रतिक्रियास्वरूप संयुक्त राज्य अमेरिका अब चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउनेछ।”
ट्रम्पले आगामी हप्ता दक्षिण कोरियामा हुने सम्भावित भेटबारे पत्रकारसँग भने —“मैले रद्द गरेको छैन, तर चीनले नै यसबारे पुष्टि गरेको छैन।”
यसले दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक तनाव फेरि चर्किने संकेत गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस