Like us!
Follow us!
Connect us!
Watch us!

स्टीभ जोब्सको सम्मानमा अमेरिकी १ डलरको सिक्का जारी हुने

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १९ : ०९ मा प्रकाशित

स्टीभ जोब्सको सम्मानमा अमेरिकी १ डलरको सिक्का जारी हुने

एप्पलका संस्थापक तथा विश्व प्रविधि क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएका स्टीभ जोब्स अब अमेरिकी सिक्कामा देखिने भएका छन्। अमेरिकी सरकारको यूएस मिण्ट (US Mint) ले जोब्सको सम्मानमा विशेष १ डलरको स्मारक सिक्का सार्वजनिक गर्ने तयारी गरेको छ।

यो सिक्का American Innovation Collection 2026 अन्तर्गत जारी गर्न लागिएको हो, जसले समाजमा नवीन सोच र आविष्कारमार्फत योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने परम्परा अघि बढाउँदै आएको छ।

स्टीभ जोब्सको सिक्काको डिजाइन

अमेरिकी मिण्टका अनुसार सिक्कामा युवा स्टीभ जोब्सको चित्र समावेश गरिएको छ। उनी क्यालिफोर्नियाको हरिया डाँडाकाँडाबीच ध्यानमग्न मुद्रामा बसिरहेका छन्। उनले आफ्नै पहिचान बनेको कालो टर्टलनेक पहिरन लगाएका छन्। सिक्काको किनारामा उनको चर्चित भनाइ अंकित गरिएको छ — “Make Something Wonderful” (केही अद्भुत बनाऊ)।

यो उक्ति सन् २००७ मा जोब्सले प्रयोग गरेको थियो, जुन पछि उनको दृष्टिकोण र एप्पलको मूल दर्शनको प्रतीक वाक्य बन्यो।

यूएस मिण्टका अनुसार सिक्काको डिजाइनले जोब्सले प्रकृतिबाट पाएको प्रेरणालाई अभिव्यक्त गर्छ। “उनको मुद्राले देखाउँछ कि कसरी उनले प्रकृतिबाट प्रेरणा लिएर जटिल प्रविधिलाई सहज र स्वाभाविक रूपमा परिवर्तन गर्ने दृष्टिकोण विकास गरे,” मिण्टले जनाएको छ।

यो सिक्काको कलात्मक डिजाइन Elana Hagler ले तयार गरेकी हुन् भने मूर्तिकला कार्य Phebe Hemphill ले सम्पन्न गरेकी हुन्।

किन बनाइँदैछ स्टीभ जोब्सको सिक्का?

यो सिक्का सार्वजनिक कानून Public Law 115-197 अन्तर्गत निर्माण हुँदैछ। सन् २०१८ देखि सुरु भएको यो परियोजनाले अमेरिकाका ५० राज्य, पाँच भू-भाग र राजधानी वाशिङ्टन डिसीमा भएका नवप्रवर्तन र आविष्कारहरूलाई सम्मान गर्ने उद्देश्य राखेको छ।

यूएस मिण्टले प्रत्येक राज्यका गभर्नर र विषय विज्ञहरूसँग सहकार्य गरी त्यस राज्य वा भू-भागको महत्वपूर्ण आविष्कार र योगदानको प्रतिनिधित्व गर्ने सिक्का तयार गर्छ।

यस वर्ष क्यालिफोर्नियासँगै तीन अन्य राज्यहरूले पनि आफ्ना प्रतिनिधि नवप्रवर्तन छनोट गरेका छन्। विस्कोन्सिनले Cray-1 Supercomputer, आयोवाले कृषि वैज्ञानिक नर्मन बोरलाग, र मिनेसोटाले मोबाइल रेफ्रिजरेसन लाई सम्मान गर्ने निर्णय गरेका छन्।

स्टीभ जोब्सको १ डलर स्मारक सिक्का सन् २०२६ को सुरुवाततिर सार्वजनिक गरिने अनुमान गरिएको छ। सिक्का अमेरिकी मिण्टको आधिकारिक वेबसाइटमार्फत बिक्रीमा आउनेछ। अन्तर्राष्ट्रिय खरिदकर्ताले पनि अनलाइन अर्डर गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको