राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन्। देश छोड्न भनिए पनि त्यसका लागि तयार रहेको उनले बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भने,‘तपाईंहरूले भन्नुहुन्छ— दुर्गा, तँ देश छोडेर जा, तेरो कारणले देश बिग्रियो, भने पनि म तयार छु। म जान्छु, मलाई लोभ छैन, मलाई केही चाहिँदैन।’
उनले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिलेको अवस्थासम्म आइपुगेको स्मरण गर्दै, जानेर–नजानेर जेजे गल्ती गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए।
‘ल, हिजो जे भयो–भयो, बाटो बिर्सियौं, सबैले भुल्यौं,’ प्रसाईंले भने, ‘अब देश जोगाउनै पर्छ। नेपाल भुंग्रोमा गएको छ, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं। मान्छेले न्यानोपन खोजेको छ, अब हामी सबै सुध्रिनै पर्छ।’
आफू ‘रेन्डम टाइपको मान्छे’ भएको उल्लेख गर्दै उनले मुख्यधारका मिडियाले कहिल्यै आफ्नो राम्रो पक्ष नदेखाएको गुनासो गरे। ‘जानेर आएँ, नजानेर आएँ, तपाईंहरूले गाली गरे पनि यहाँ आइपुगेँ,’ उनले भने, ‘मुख्य मिडियाले त मेरो कहिल्यै राम्रो लेखेन, जीवनभर नराम्रो मात्रै लेख्यो।’
गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजसंस्था पुनर्स्थापनाको समर्थनमा प्रसाईंले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। सो घटनापछि उनी भारततिर भागेका थिए, तर पछि प्रहरीले उनलाई पक्राउ गरी ल्याएको थियो।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। अहिले उनले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन्।
तर गृह मन्त्रालयले प्रदर्शन नगर्न आग्रह गर्दै प्रसाईंलाई वार्तामा बोलाएको छ। वार्ताको प्रस्तावपछि पत्रकार भेटघाटमा उनले भने,‘सरकारले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको छ, यो राम्रो कदम हो।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस