चालु आर्थिक वर्षको तीन महिनाको अन्तरमा नेपालको वैदेशिक व्यापारमा २६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार २६.०४ प्रतिशतले वृद्धि भएको हो ।
विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रूपैयाँ बराबरको व्यापार भएको छ । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रूपैयाँ रहेको थियो । विभागको तथ्यांक अनुसार नेपालले व्यापार गर्ने देशहरुमध्ये १०८ देशसँग नेपालको व्यापार घाटामा रहेको छ । जसमध्यये सबै भन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । नेपालको सबै भन्दा धेरै व्यापार हुने देश पनि भारत नै हो ।
चालु आवको ३ महिनामा नेपालले १३८ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये १०८ देशसँग घाटाको व्यापार गरिरहेको छ । विभागका अनुसार यो अवधिमा भारतसँग मात्रै नेपालको व्यापार घाटा १ खर्ब ९९ अर्ब ७४ करोड ९८ लाख रूपैयाँ रहेको छ । नेपालले भारतबाट २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रूपैयाँको वस्तु आयात भएकोमा ५९ अर्ब १२ करोड ८४ लाख रूपैयाँको मात्र वस्तु तथा सेवा निर्यात गरेको छ ।
भारतपछि सबै भन्दा धेरै व्यापार घाटा चीनसँग रहेको छ । विभागका अनुसार नेपालको चीनसँग १ खर्ब ४ अर्ब ७० करोड ७८ लाख रूपैयाँको व्यापार घाटा रहेको छ । चीनबाट नेपालले १ खर्ब ४ अर्ब ८९ करोड ४२ लाख रूपैयाँको वस्तु आयात गरेको छ भने जम्मा १८ करोड ६४ रूपैयाँको मात्र वस्तु निर्यात गरेको छ ।
भन्सार विभागका अनुसार नेपालको अर्जेन्टिनासँग २७ अर्ब ८९ करोड २४ लाख रुपैयाँ, यूएइसँग १३ अर्ब ११ करोड ६ लाख रुपैयाँ, इन्डोनेसियासँग ५ अर्ब २९ करोड ४ लाख रुपैयाँ, ब्राजिलसँग ४ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ, थाइल्यान्डसँग ३ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ, मलेसियासँग ३ अर्ब ११ करोड ८८ लाख रुपैयाँ र अमेरिकासँग २ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ व्यापार घाटा रहेको छ ।
३० देशसँग नेपालको व्यापार नाफा
व्यापार नाफा हुने ३० मुलुकमध्ये क्रमशः डेनमार्क, जर्मन, रोमनिया, स्वीडेन लगायतका मुलुकहरु रहेका छन् । डेनमार्कबाट ४ करोड १ लाख रुपैयाँको आयात हुँदा २८ करोड ९९ लाख रुपैयाँको निर्यात भएको छ । डेनमार्कसँगको व्यापारमा २४ करोड ९८ लाख रुपैयाँ नाफा भएको छ ।
यस्तै, जर्मनसँग ९ करोड १५ लाख रुपैयाँ नाफा छ । रोमनियासँग ७ करोड १ लाख रुपैयाँ र स्वीडेनसँग १ करोड ९१ लख रुपैयाँले व्यापार नाफामा छ । चालु आवको ३ महिनमा ५ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि असोजसम्मको अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको तुलनामा २६.०४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार भएको थियो । भन्सार विभागका अनुसार चालू आवको ३ महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १९.७९ प्रतिशत बढी हो । सो अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, यस अवधिमा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशत बढी हो । सो अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस