नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा पार्टी छाडेर गएका नेताहरूलाई मूलघर फर्किन गरेको आह्वानलाई स्वागत गरेका छन्। उनले उक्त आह्वानलाई “स्वागतयोग्य र समय सान्दर्भिक” भन्दै वाम आन्दोलनलाई पुनः एकताबद्ध गर्ने ऐतिहासिक अवसरको रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक गरेको सन्देशमा भट्टराईले नेकपा (एमाले)को निर्माणमा योगदान गरेका सबै कमरेडहरूलाई पुनः आन्दोलनमा समाहित हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, जनताको बहुदलीय जनवाद (जवज) को सिद्धान्तलाई मार्गदर्शक मान्दै वाम आन्दोलनलाई एकताबद्ध गर्नु नै अहिलेको राष्ट्रिय कार्यभार हो।
उनले लेखेका छन् कि नेकपा (एमाले) मात्र त्यस्तो संगठन हो, जसले “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण” मा विश्वास गर्छ। उनका अनुसार, निषेध, प्रतिशोध र घृणाको राजनीति त्यागेर सहकार्य र सहअस्तित्वको बाटोबाट मात्र एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ।
भट्टराईले पार्टी एकताको चार प्रमुख आधार पनि प्रस्तुत गरेका छन् —
पहिलो, जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने,
दोस्रो, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरताको मान्यता दिने,
तेस्रो, भाद्र २३ र २४ पछि उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने,
चौथो, नेकपा (एमाले)को नेतृत्वमा आर्थिक र सामाजिक रूपान्तरण गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने।
उनले अन्त्यमा सबै कमरेडहरूलाई आह्वान गर्दै भनेका छन् — “आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौँ।”
राजनीतिक विश्लेषकहरूको मूल्यांकनमा, भट्टराईको यो सन्देशले एमालेभित्रको ‘पार्टी पुनर्गठन र वाम एकता’ सम्बन्धी बहसलाई थप बल दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस