Like us!
Follow us!
Connect us!
Watch us!

उम्मेदवार छनोटप्रति असन्तुष्टि, एमाले उपमहासचिव योगेश भट्टराईले नेतृत्वविरुद्ध नोट अफ डिसेन्ट

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, ०७ : ५७ मा प्रकाशित

उम्मेदवार छनोटप्रति असन्तुष्टि, एमाले उपमहासचिव योगेश भट्टराईले नेतृत्वविरुद्ध नोट अफ डिसेन्ट

नेकपा एमालेभित्र उम्मेदवार छनोट प्रक्रियालाई लिएर गम्भीर असन्तुष्टि सतहमा आएको छ। पार्टी सचिवालयको लामो बैठकपछि उपमहासचिव योगेश भट्टराईले खुला असहमति जनाउँदै नेतृत्वको निर्णयमाथि प्रश्न उठाएका छन्।

शनिबार करिब आठ घण्टा चलेको सचिवालय बैठकमा स्पष्ट मापदण्डबिना उम्मेदवार तय गरिएको निष्कर्षसहित भट्टराई बैठकबाट बाहिरिएका हुन्। पार्टी स्रोतका अनुसार उनले उम्मेदवार छनोटको शैली, प्रक्रिया र नेतृत्वको एकपक्षीय निर्णयप्रति आपत्ति जनाउँदै तीन बुँदे ‘नोट अफ डिसेन्ट’ तयार पारेका छन्, जुन आइतबार पार्टी कार्यालयमा औपचारिक रूपमा बुझाउने तयारी छ।

बैठकमा ताप्लेजुङबाट आफूलाई उम्मेदवार नबनाइने संकेत पाएपछि भट्टराईले संसद्मा आफ्नो भूमिका र अघिल्ला कार्यकालको कामका आधारमा प्रश्न उठाएका थिए। तर नेतृत्वतर्फबाट सन्तोषजनक जवाफ नआएपछि असन्तुष्टि झन गहिरिएको स्रोतको भनाइ छ। पार्टीभित्र ११औँ महाधिवेशनमा फरक धारबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई योजनाबद्ध रूपमा किनारामा राख्ने प्रयास भइरहेको बुझाइ भट्टराईको छ।

योगेश भट्टराई मात्र होइन, सोही धारमा रहेका केही प्रभावशाली नेताहरूप्रति पनि नेतृत्व अनुदार देखिएको चर्चा एमालेभित्र व्यापक छ। यसले पार्टीभित्र निर्णय केन्द्रीकरण र आन्तरिक लोकतन्त्रको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।

यद्यपि, असहमति सार्वजनिक गरे पनि भट्टराईले पार्टी एकतालाई प्राथमिकतामा राखेको संकेत दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले निर्णयप्रति विचलित नहुन कार्यकर्तालाई आग्रह गर्दै उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। उनले एमालेको यात्रा लामो र गौरवपूर्ण रहेको उल्लेख गर्दै आन्तरिक मतभेदलाई संगठन कमजोर बनाउने माध्यम नबनाउन संकेत गरेका छन्।

यसैबीच सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि केही रणनीतिक क्षेत्रहरूमा अन्तिम निर्णय अध्यक्षले गर्ने भन्दै खुला राखिएको छ। पार्टी नेतृत्वका अनुसार ती क्षेत्रमा गठबन्धनको सम्भावना, स्थानीय समीकरण र चुनावी गणितका आधारमा निर्णय हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको