फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उल्लेखनीय नाफा कमाएको छ। संस्थाले तीन महिनाको अवधिभित्र ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको फरवार्ड लघुवित्तले यो वर्ष ३७.३२ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको हो। आम्दानी र सञ्चालन मुनाफा दुबै बढेपछि कम्पनीको नाफा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १८.९२ प्रतिशतले बढ्दै ३३ करोड ३९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो रकम २८ करोड ८ लाख रुपैयाँ थियो। यस्तै, कुल सञ्चालन आम्दानी ३१ करोड ९२ लाख रुपैयाँबाट १७.३३ प्रतिशतले बढ्दै ३७ करोड ४५ लाख रुपैयाँमा पुगेको छ।
आम्दानीमा सुधारसँगै संस्थाको सञ्चालन नाफा पनि ५ करोड ९३ लाख रुपैयाँबाट बढेर ८ करोड १६ लाख रुपैयाँमा पुगेको छ, जुन ३७.६६ प्रतिशतले वृद्धि हो। नाफा बढेपछि प्रतिसेयर आम्दानी (EPS) पनि १५ रुपैयाँ ७७ पैसाबाट बढेर १९ रुपैयाँ १२ पैसा कायम भएको विवरणमा उल्लेख छ।
तर, कम्पनीको वितरणयोग्य नाफा भने तीव्र रूपमा घटेको छ। गत वर्ष २३ करोड ७५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा यस वर्ष घटेर ३५ लाख ५८ हजार रुपैयाँमा सीमित भएको हो। यसरी संस्थाको वितरणयोग्य मुनाफा ९८.५० प्रतिशतले घटेको छ, जसको कारण ऋणात्मक प्रतिसेयर वितरणयोग्य आम्दानी ४ रुपैयाँ ६९ पैसामा पुगेको हो।
संस्थाको चुक्ता पुँजी १ अर्ब १९ करोड ५९ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ३५ लाख रुपैयाँ र रिजर्भ कोषमा २ अर्ब ५ करोड ९ लाख रुपैयाँ सञ्चिति छ। यस अवधिसम्म संस्थाले २० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ भने १० अर्ब ३४ करोड ४६ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ।
यद्यपि, कम्पनीको खराब कर्जा (एनपीएल) गत वर्षको ७.३८ प्रतिशतबाट बढ्दै ८.२० प्रतिशतमा पुगेको छ, जसले जोखिमको संकेत पनि दिएको छ। समीक्षाअवधिसम्म संस्थाको प्रतिसेयर नेटवर्थ २७१ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ८७४ रुपैयाँ ७४ पैसा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस