Like us!
Follow us!
Connect us!
Watch us!

एमाले–माओवादी केन्द्र एकता

मंगलबार, ०८ फागुन २०७४, ०९ : ०० मा प्रकाशित

एमाले–माओवादी केन्द्र एकता

  • ७ प्रारम्भिक आधारमा हस्ताक्षर  

  • नेतृत्व दुवै अध्यक्षमा  

  • निर्देशक सिद्धान्त– मार्क्सवाद लेनिनवाद

अर्थ संसार, काठमाडौँ — एमाले र माओवादी केन्द्र दुवै अध्यक्षले संयुक्त रूपमा एकीकृत पार्टीको नेतृत्व गर्ने गरी पार्टी एकता गर्न सहमत भएका छन् ।

दुवै दल ‘माक्र्सवाद र लेनिनवाद’ लाई मार्गदर्शक सिद्धान्त मान्दै बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामार्फत अघि बढ्ने छन् ।

वाम एकता संयोजन समितिले सोमबार राति बालुवाटारमा पार्टी एकतासम्बन्धी सात बुँदे सहमति गरेलगत्तै अब माओवादी सरकारमा समेत सामेल हुनेछ । तीन दिनभित्र माओवादी सरकारमा जाने छ ।


पार्टी एकीकरणसम्बन्धी ७ बुँदे सहमतिमा सोमबार राति हस्ताक्षर गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर सौजन्य स् प्रदीप ज्ञवाली

उक्त सहमतिमा पार्टीको नेतृत्वबारे औपचारिक रूपमा केही लेखिएको छैन । तर नेताहरूका अनुसार अध्यक्ष दुवै दलको रहने र पालोपालो बैठकको अध्यक्षता गर्ने सैद्धान्तिक समझदारी भएको छ ।

एउटै पार्टी भएपछि कुन समयमा कसलाई के जिम्मेवारी दिने भन्ने पछि तय हुने भएकाले अहिले नै संयुक्त नेतृत्व र प्रधानमन्त्रीको फेरबदलका विषयहरू लिखित समझदारीमा उल्लेख गरिएको छैन ।

संसद्को पहिलो बैठक बसेपछि औपचारिक रूपमा पार्टी एक भएको जानकारी निर्वाचन आयोगलाई गराइने एकता संयोजन समितिका सदस्य एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

‘पार्टी एक भएको जानकारी हामी छिट्टै आयोगलाई दिन्छौं,’ उपाध्यक्ष गौतमले कान्तिपुरसँग भने, ‘यसपछि औपचारिक रूपमा एउटै पार्टीका रूपमा काम सुरु हुन्छ ।’ एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त ‘माक्र्सवाद र लेनिनवाद’ हुनेछ ।

एमालेले अवलम्बन गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले मान्दै आएको ‘माओवाद र एक्काइसौ‌ शताब्दीको जनवाद’ सम्बन्धी विषयहरूलाई विधिसम्मत रूपमा छलफल गरी विकास गर्दै लैजाने दुवै दलको समझदारी छ ।

एमालेले मान्दै आएको जबजको सिद्धान्तभित्र शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने मान्यता रहेको र शान्ति प्रक्रियापछि माओवादी पनि बहुदलीय प्रक्रियाबाटै श्रेष्ठता कायम गर्नेबारे समान धारणा रहेको सात बुँदे सहमतिको तेस्रो बुँदामा उल्लेख छ । ‘मूलतस् यही धारणाअनुसार पार्टी अघि बढ्ने छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने ।

यसअघि दुई दलबीच दुवैले अवलम्बन गर्दै आएका जबज र माओवादका सिद्धान्तलाई राख्ने कि नराख्ने भन्नेमा विवाद थियो । गत बुधबार बसेको एकता संयोजन समितिको बैठक यही विषयका कारण निष्कर्षमा पुगेको थिएन ।

दुई दलका अध्यक्षले झन्डै चार दिनयता गरेको एकल छलफलबाट तत्कालका लागि माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै अन्य विषयलाई छलफल गर्दै जाने निष्कर्ष निकालेका थिए ।

त्यही निष्कर्षका आधारमा संयोजन समितिले अनुमोदन गरेको हो । ‘यो सहमतिले दुई दललाई एक बनाउने छ,’ माओवादी नेता तथा संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले भने ।

पार्टी एकतासम्बन्धी काम अघि बढाउन दुइटा कार्यदल निर्माण गर्ने समझदारी भएको छ । उक्त समझदारीअनुसार एउटा संगठन व्यवस्थापनसम्बन्धी हुनेछ भने अर्कोलाई पार्टीका राजनीतिक कार्यक्रम, विधानलगायतका दस्तावेज बनाउन जिम्मेवारी दिइने छ ।

ती समितिले प्रतिवेदन बनाएपछि त्यसभित्र नेताहरूको व्यवस्थापन, केन्द्रीय समिति, स्थायी समिति र पोलिट ब्युरोलगायत कस्तो हुने भन्ने औपचारिक टुंगो लाग्नेछ । त्यसैले सोमबार राति सार्वजनिक गरिएको सात बुँदे सहमतिलाई ‘एकीकरणका प्रारम्भिक आधारहरू’ मात्र भनिएको छ ।

संगठनात्मक स्वरूप तयार भएर एकता नहुँदासम्म हालको एकता संयोजन समितिले नै एकीकृत पार्टीका रूपमा मूल काम गर्दै जाने गौतमले जानकारी दिए । पार्टी एक भएपछि आगामी महाधिवेशन कहिले गर्ने भन्ने औपचारिक टुंगो हुनेछ ।

नेताहरूका अनुसार डेढ वर्षभित्र महाधिवेशन गर्न सकिने कुरा भएको छ । अब हुने महाधिवेशन एकता महाधिवेशनका रूपमा समझदारीका साथ सम्पन्न गर्ने सात बुँदे सहमतिमा उल्लेख छ ।

एमाले र माओवादी फरक धारका राजनीतिक अभ्यासबाट उदाएका दुई कम्युनिस्ट घटक हुन् । चार महिनाअघि वाम गठबन्धन बनाएर चुनावमा गएका दुई दलले झन्डै दुई तिहाइ सिट जितेपछि उनीहरूबीच एकताका लागि मजबुत आधार तयार भएको थियो ।

तर चुनाव सकिएपछि पनि एकीकृत पार्टीको नेतृत्वलगायत विषयमा समझदारी जुटाउन झन्डै दुई महिना छलफल चल्यो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको पटक–पटकका छलफलले सहमतिका आधार तयार गरेपछि संयोजन समितिको बैठकले औपचारिक सहमति गरेको हो ।

राति अबेरसम्म चलेको छलफलले एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले अंगाल्दै आएको माओवाद सिद्धान्तलाई महाधिवेशनसम्म छलफलमा लैजाने समझदारी बनाएपछि एकतासम्बन्धी सात बुँदेमा हस्ताक्षर सम्भव भएको हो ।

२००६ सालमा स्थापना भएको ‘नेपाल कम्युनिस्ट पार्टी’ २०१९ सालको तेस्रो महाविधेशनसम्म एउटै थियो । त्यसपछि कम्युनिस्ट आन्दोलनमा चिरा पर्‍यो । तेस्रो महाधिवेशबाट पुष्पलाल समूह र चौथो महाधिवेशन समूहको जन्म भयो । हालको एमाले पुष्पलाल धारबाट विकसित हुँदैआयो भने माओवादी चौथो महाधिवेशन समूहबाट ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको