Like us!
Follow us!
Connect us!
Watch us!

अन्यौलतामा सेयर बजार, किन बढ्न सकेन लगानीकर्ताको मनोबल ?

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, १७ : १९ मा प्रकाशित

अन्यौलतामा सेयर बजार, किन बढ्न सकेन लगानीकर्ताको मनोबल ?

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटिरहेको छ । गत साताको सबै चार कारोबार दिन घटेको सेयर बजार यो साताको पनि पाँच कारोबार दिनमध्ये चार कारोबार दिन घटेर कारोबार भयो । एक दिन मात्रै बजार बढेर बन्द भएको थियो । मंसिरको दोस्रो साताको सबै पाँच दिन नै बढेको सेयर बजार त्यस पछिका दिनहरु लगातार रुपमा घटिरहेको छ । त्यो बेला बजार ११५ अंकले बढेको थियो । त्यस पछिका दिनमा भने बजारमा कुनै पनि किसिमको सकारात्मक  संकेत देखिएको छ ।

गत साताको अन्तिम कारोबारको तुलनामा यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.८ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन मंसिर १७ गते बुधबार परिसूचक २६३१.१७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार बन्द हुँदा २६०७.३७ विन्दुमा पुगेको छ ।  यो अवधिमा कारोबार रकममा पनि करिब २ अर्ब रुपैयाँको गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँको कारोबार भएको बजारमा आज (यो साताको अन्तिम कारोबार दिन) ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ रुपैयाँको कारोबार भएको छ । 

निरन्तर रुपमा बजार घट्नुमा लगानीकर्ताको मनोबल बढ्न नसक्ने मुख्य कारण रहेको लगानीकर्ताहरुको भनाइ छ । अहिले देशमा नयाँ सत्ता आएको छ । चुनावी सरकार भए पनि लगानीकर्तामा लगानीका लागि कन्फिडेन्टको कमीका कारणले बजारले गति लिन नसकेको उनीहरुको भनाइ छ । ‘बजार बढ्नका लागि लगानीकर्ताको मनोबल उच्च हुनु पर्छ तर अहिले लगानीकर्ताहरुमा कन्फिडेन्ट देखिदैन्,’ ती लगानीकर्ताले भने । गैर राजनीतिक दलको सत्ता भए पनि लगानीकर्ताहरुमा विश्वास बढन् नसकेकाले बजारले गति नलिएको उनको भनाइ छ । 

अहिले सबै क्षेत्रमा विश्वासको वातावरण नरहेको र लगानीकर्ताहरु पनि उत्साहीत हुन नसकेकाले बजार बढन् नसकेको उनीहरुको भनाइ छ । अहिले बजारमा लगानी आउने भन्दा पनि बजारबाट रकम बाहिरिने क्रम बढ्दै गएकाले पनि बजारले गति लिन नसकेको अर्का लगानीकर्ताले बताए । लगातार रुपमा आईपीओ आइरहेको र आईपीओ बिक्री गरेको पैसा पुँजी बजार भन्दा अन्य क्षेत्र गएको लगानीकर्ता एसपी चौलागाईले बताए । पुँजी बजारलाई मनोविज्ञानले धेरै असर गर्ने भएकाले अहिले मनोवैज्ञानिक रुपमा लगानीकर्ताहरुको मनोबल कमजोर रहेको उनको भनाइ छ ।

पछिल्लो समय नीतिगत रुपमा पनि सुधारका कामहरु भइरहेको भए पनि बजारले भने सोचेजस्तो गति लिन सकेको छैन । नेपाल राष्ट्र बैंकले गर्नु पर्ने अधिकांश सुधारका कामहरु गरिसकेको छ । नेप्से र सेवोनले पनि गर्नु पर्ने सुधारका कामहरु गर्दै गएको छ । अहिले अवस्था नेप्से परिसूचक ३२०० विन्दु पुग्दाजस्तो भए पनि बजारले भने गति लिनसकेको छैन । नेप्से परिसूचक ३२०० विन्दुमा पुग्दाको समय जस्तो अहिले बैंकमा पनि प्रशस्त मात्रामा तरलता रहेको छ । त्यस्तै ब्याजदर निकै कम रहेको छ । तर पनि बजार बढ्न नसक्नुको कारण राजनीतिक रुपमा देखिएको अन्यौलताले पनि बजार घटेको अर्को लगानीकर्ताले बताए । 

लगानीकर्ताको मनोबल बढाउनका लागि राजनीतिक रुपमा पनि अन्यौलता हट्नु पर्ने आवाज पनि लगानीकर्ताको छ । अहिले सरकारले गर्ने भनेको चुनाव नै हुन्छ कि हुदैन भन्नेमा नै द्धिविधा देखिएको छ । यसले पनि बजार घट्नमा सहयोग पुगिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको