चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट करिब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त नाकाबाट पाँच महिनाको अवधिमा ७ अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
यो अवधिमा पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा ३ अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, २ अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, उक्त पाँच महिनामा १ अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाखको ३ हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस