संयुक्त राज्य अमेरिकाले गैर–अमेरिकी नागरिक तथा ग्रीन कार्ड धारकलाई लक्षित गर्दै नयाँ यात्रा र आप्रवासनसम्बन्धी नियमहरू लागू गरेको छ। डिसेम्बर २६ देखि कार्यान्वयनमा आएका यी नियमले अमेरिकी सीमामा हुने जाँच प्रक्रियालाई थप कडा बनाएको छ भने बायोमेट्रिक पहिचान प्रणालीको प्रयोगलाई व्यापक बनाइएको छ।
नयाँ व्यवस्थाअनुसार अब अमेरिकामा प्रवेश वा बाहिरिने सबै गैर–अमेरिकी नागरिकको प्रत्येक यात्रामा अनिवार्य रूपमा फोटो खिचिनेछ। यसअघि सीमित विमानस्थलमा परीक्षणका रूपमा मात्र लागू गरिएको बायोमेट्रिक प्रणाली अब विमानस्थल, स्थल नाका, बन्दरगाह, निजी जहाज, सवारीसाधन तथा पैदल यात्रासमेत समेट्ने गरी विस्तार गरिएको छ।
यस व्यवस्थाले बालबालिका र ज्येष्ठ नागरिकलाई दिइँदै आएको छुटसमेत हटाएको छ। १४ वर्षमुनिका बालबालिका र ७९ वर्षभन्दा माथिका व्यक्तिलाई पहिले बायोमेट्रिक जाँचबाट मुक्त गरिएकोमा अब उनीहरू पनि यस प्रक्रियामा समेटिनेछन्। कूटनीतिज्ञ तथा क्यानडाका अधिकांश आगन्तुकका लागि रहेको छुटसमेत अब लागू हुने छैन।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले आवश्यक परे औँठाछाप र आँखाको नानी स्क्यान समेत सङ्कलन गर्न सक्नेछ। यी विवरणहरू यात्रुसँग सम्बन्धित कागजातसँग मिलान गरी विशेष डिजिटल प्रणालीमार्फत प्रमाणीकरण गरिनेछ। अमेरिकी नागरिकहरू भने यस नियमको दायरामा पर्ने छैनन्, तर चाहेमा स्वेच्छिक रूपमा बायोमेट्रिक प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
यससँगै केही देशका ग्रीन कार्ड धारक र आवेदकहरूका हकमा थप कडाइ गरिने संकेत पनि देखिएको छ। अमेरिकी सुरक्षासँग सम्बन्धित चिन्ताका आधारमा चिन्हित १९ देशका नागरिकको यात्रा तथा आप्रवासन इतिहास पुनः परीक्षण गर्न सकिने तयारी गरिएको छ। यस प्रक्रियामा विगत केही वर्षदेखि अमेरिकामा कानुनी रूपमा बसोबास गरिरहेका व्यक्तिसमेत समेटिन सक्ने बताइएको छ।
आप्रवासन निकायका अनुसार ती देशका ग्रीन कार्ड धारक तथा आवेदकलाई पुनः अन्तर्वार्ताका लागि बोलाइने सम्भावना पनि छ। यसले ग्रीन कार्ड, नागरिकता तथा आश्रयसम्बन्धी निवेदनहरूको प्रक्रिया ढिलो हुन सक्ने संकेत दिएको छ।
जनवरी १, २०२६ देखि थप लागू हुने अर्को व्यवस्थाअनुसार १२ देशका नागरिकलाई पूर्ण रूपमा अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाइनेछ भने ७ देशका नागरिकमाथि आंशिक प्रतिबन्ध रहनेछ। यी निर्णय हालै भएको एक सुरक्षा घटनापछि लिइएको अमेरिकी प्रशासनको भनाइ छ।
नयाँ नियमपछि ग्रीन कार्ड धारकलाई यात्रा गर्दा कागजात सधैँ अद्यावधिक राख्न र आवश्यक परे तत्काल प्रस्तुत गर्न तयार रहन सुझाव दिइएको छ। सीमामा हुने सोधपुछ पहिलेभन्दा विस्तृत र कडाइका साथ हुने अनुमान गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस