नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादले नयाँ मोड लिएको छ। शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको हालैको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने औपचारिक निर्णय गरेको छ।
सानेपामा बसेको देउवा पक्षको बैठकले आयोगको निर्णयलाई स्वीकार गर्न नसकिने ठहर गर्दै कानुनी र राजनीतिक दुवै तहमा प्रतिवाद अघि बढाउने निष्कर्ष निकालेको हो। बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले गरेको निर्णय संविधान, पार्टी विधान र प्रचलित कानुनअनुसार नभएको दाबी गरे।
उनका अनुसार निर्वाचन आयोगले आधिकारिकता दिने प्रक्रियामा देउवा पक्षलाई न त विधिवत् रूपमा बोलाइयो, न त आफ्ना कुरा राख्ने अवसर नै प्रदान गरियो। आयोगले आवश्यक नजिर, विधानका व्यवस्था तथा निर्वाचनसम्बन्धी मापदण्डलाई बेवास्ता गर्दै एकतर्फी निर्णय गरेको आरोप उनले लगाए।
डा. महतले निर्वाचन आयोगको निर्णय अन्तिम नभएको जिकिर गर्दै न्यायिक निकायमार्फत सत्य र विधिको परीक्षण हुने विश्वास व्यक्त गरे। अन्यायपूर्ण निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको र आइतबार नै अदालत जाने कार्यक्रम रहेको उनले बताए।
कानुनी उपचारसँगै राजनीतिक प्रतिवादका विभिन्न विकल्पमाथि पनि छलफल भइरहेको उनले जानकारी दिए। पार्टीको वैधानिक संरचनालाई कमजोर पार्ने उद्देश्यले गरिएको निर्णयले नेपाली कांग्रेसलाई गम्भीर क्षति पुग्ने खतरा रहेको उनको भनाइ छ।
यसअघि शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो। उक्त निर्णयपछि थापा पक्षले पार्टीका गतिविधि अगाडि बढाइसकेको छ भने पार्टीको केन्द्रीय कार्यालय भने हाल देउवा पक्षकै प्रयोगमा रहेको अवस्था छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस