इप्पानका वरिष्ठ उपाध्यक्ष माेहन कुमार डागीले नेपालको समृद्धिका मुख्य आधार उर्जा, पर्यटन र कृषि रहेको उल्लेख गर्दै जलविद्युतमा ८२ हजार मेगावाटभन्दा बढी र सोलार उर्जामा ४० हजार मेगावाटभन्दा बढी सम्भावना रहेको बताएका छन्। हाल देशको कुल विद्युत उत्पादन ३ हजार १९५ मेगावाट पुगेको र निजी क्षेत्रको २६ वर्षे यात्रामा ३ हजार ३३५ मेगावाट उत्पादन गर्न सफल भएको उनले बताएका हुन्।
उनका अनुसार डिजेल, पेट्रोल र एलपिजी ग्यासको आयात घटाउँदै उर्जा खपत बढाउनु नै समृद्धिको आधार हो। निजी क्षेत्रले उत्पादन गरेको विद्युतको हिस्सा ८३ प्रतिशत पुगेको र निर्माणाधीन ५ हजार ७ सय मेगावाट आयोजनामा अझ बढी योगदान रहेको उनले दाबी गरे।
डागीले आगामी २/४ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने निश्चित रहेको भन्दै त्यसको खपत र व्यापारका लागि समयमै नीति नबने गम्भीर समस्या आउन सक्ने चेतावनी दिए। संसारभर प्रमाणित निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा अनुमति दिनुपर्नेमा उनले जोड दिए।
उनले तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यले २०५५ सालमा पीपीए दर तोकेकै कारण आज देश उज्यालो भएको स्मरण गर्दै वर्तमान सरकारले पनि निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएर उर्जा क्षेत्रको नयाँ युगको सुरुआत गर्न सक्ने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस