Like us!
Follow us!
Connect us!
Watch us!

जेन्जी आन्दोलनले हल्लाएको अर्थतन्त्र - समाधान कहिले ?

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, १३ : २० मा प्रकाशित

जेन्जी आन्दोलनले हल्लाएको अर्थतन्त्र - समाधान कहिले ?

जेन्जी आन्दोलनपछि सरकार र नीतिनिर्मातामाथि अर्थतन्त्र सुधारको दबाब बढेको छ। देशमै रोजगारी, लगानी र उत्पादनको वातावरण नहुँदा युवामा असन्तुष्टि चुलिएको देखिन्छ । जसको प्रभाव अहिलेको आर्थिक गतिविधिमा समेत देखिन थालेको छ। पछिल्लो समय ब्याजदर घटाइएको भए पनि उद्योग–व्यवसायमा अपेक्षित लगानी बढ्न सकेको छैन। निजी क्षेत्र अझै पनि पर्ख र हेरको अवस्थामा छ। अर्थविद्हरूका अनुसार यसको मुख्य कारण आर्थिकभन्दा बढी राजनीतिक अनिश्चितता हो।

जेन्जी आन्दोलनपछि स्वदेशी उत्पादन, रोजगारी सिर्जना र स्थायी आर्थिक नीतिको बहसलाई पुनः सतहमा ल्याएको छ। तर नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व नहुँदा अर्थतन्त्र अझै गति लिन सकेको छैन। यसै सन्दर्भमा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाबारे कडा टिप्पणी गरेका छन्। 

उनका अनुसार देशको अर्थतन्त्र ओरालो लाग्ने क्रममा छ र उद्योग–व्यवसाय सञ्चालनका लागि आवश्यक वातावरण नै बनेको छैन।

उनले भने ,'अर्थतन्त्र ओरालो लाग्ने क्रममा छ। उद्योग–धन्दा चलाउन वातावरण हुनुपर्छ। ब्याजदर घट्दा पनि लगानी गर्ने वातावरण पाएनौँ। यसमा राजनीतिक अस्थिरता सबैभन्दा ठूलो कारण हो। जेन्जीले गरेर खान सक्ने अवस्था भएको भए यस्तो हुँदैनथ्यो। स्थायित्वको पाइला होइन, राजनीति दिगो बनाउने प्रयास हुनुपर्छ। स्वदेशी उत्पादनमा जोड दिनुपर्छ, होइन भने दास भन्न तयार भए हुन्छ ।'

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा सरकारी तथा निजी क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर क्षति भएको तथ्यांक सार्वजनिक भइसकेकाे छ । क्षति विवरण अनुसार  सरकारी/सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति भएको देखिएको छ । त्यस्तै निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख बराबर क्षति भएको सरकारको अध्ययनमा देखिएको हो । बाँकी सामुदायिक क्षेत्रको क्षति भएको योजना आयोगको अध्ययनमा छ ।

अहिले निजी क्षेत्र कमजोर रहेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउनका लागि राज्य नै ठोस नीति लिनु पर्ने अवस्था देखिन्छ । तर अहिले देश पूर्ण रुपमा निर्वाचनमा केन्द्रित भएकाले पनि निर्वाचन पछि आउने सरकारले कस्तो नीति लिन्छ त्यो अनुसार नेपालको अर्थतन्त्र अघि बढ्ने अर्थविद्हरुका भनाइ छ । राज्यको ठूलो बजेट नै क्षति भएका भौतिक पूर्वाधारका खर्च हुने र निजी क्षेत्रको मनोबल पनि यही अवस्थामा रहँदा अर्थतन्त्र थप विस्तार हुन कठिन हुने अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाइ छ । निर्वाचनले अर्थतन्त्र केही मात्रामा चलायमान भएको देखिए पनि यसले अर्थतन्त्रलाई दिर्घकालिन रुपमा सकारात्मक असर पार्ने सम्भवना कम रहेको उनी बताउँछन् । 

आफ्ना उत्पादन निकै कम भएको र परनिर्भरतामा रहेको अर्थतन्त्रलाई एकै पटक ठूलो परिवर्तन गर्नका लागि सम्भव नहुने उनको भनाइ छ । आगामी सरकारले निजी क्षेत्रलको मनोबल बढाउन सकेको खण्डमा अर्थतन्त्रमा केही सुधार हुने विश्वास गर्न सकिने भए पनि अहिलेको नै अवस्थामा भने अर्थनन्त्रमा खासै सुधार देखिन सम्भावना नदेखिएको उनको भनाइ छ । आफ्नै देशमा उत्पादन बढाउने र त्यसका लागि आवश्य नीति बनाएको खण्डमा अर्थतन्त्र सुधार हुने भए पनि अहिले पनि नेपालको अर्थतन्त्र आयातमा आश्रीत रहेकाले तत्काल सुधारको अवस्था भने नदेखिएको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको