Like us!
Follow us!
Connect us!
Watch us!

डोल्पामा भारबुङ जलविद्युत् आयोजना निर्माण हुने, वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढ्यो

अर्थ संसार

आइतबार, ११ माघ २०८२, १२ : ५० मा प्रकाशित

डोल्पामा भारबुङ जलविद्युत् आयोजना निर्माण हुने, वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढ्यो

डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल ३२८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अगाडि बढाएको हो ।

डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजानाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने ३२५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप ३.१० मेगावाट क्षमताका दुईवटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, सात सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ ।

सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत गृह र पानी निकास नहर निर्माण गरिनेछ । आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ । आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत १ खर्ब ३ अर्ब ३१ करोड ९ लाख ३१ हजार रुपैयाँ बराबर रहनेछ ।

प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ बराबर रहेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । भ्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।
मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युत्गृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो ।

आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको