Like us!
Follow us!
Connect us!
Watch us!

छ महिनामा सात अर्ब १९ करोडको अलैँची निर्यात

अर्थ संसार

बुधबार, १४ माघ २०८२, १४ : ४८ मा प्रकाशित

छ महिनामा सात अर्ब १९ करोडको अलैँची निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको हो ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्यांकले देखाएको छ । गत आवको साउनदेखि पुससम्ममा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलैँची पूर्वीनाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६.२ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको छ महिनामा रु ७६ करोड ५ लाख ३ हजार मूल्य बराबरको ४ लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख ३४ हजार मूल्य बराबरको २ लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ । भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ । चालु आव २०८२/८३ को छ महिनामा ५३ करोड चार लाख ९६ हजारको भेनियर सिट र रु नौ करोड १२ लाख ८७ हजार मूल्यको मुसुरो दाल निर्यात भएको छ ।

गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६ दशमलव ४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४ दशमलव ५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ । चालु आवको छ महिनामा २ अर्ब १७ करोड ८७ लाख ५ हजार मूल्य बराबरको चिया र १ अर्ब ९ करोड ७४ लाख ३ हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार मूल्य बराबरको चिया र १ अर्ब ९७ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको थियो ।

यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अर्धवार्षिक अवधिमा ३३ करोड ८९ लाख तीन हजार मूल्य बराबरको अम्लिसो, ५० करोड १७ लाख ३२ हजार मूल्य बराबरको अदुवा र सुठो, रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली, बन्दाकोभी र ब्रोकाउली र रु पाँच करोड ७४ लाख २७ हजार मूल्य बराबरको जडीबुटी निर्यात भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको