Like us!
Follow us!
Connect us!
Watch us!

झापा -५: बालेनको 'क्रेज' कि ओलीको 'गढ'? कसले जोगाउला आफ्नो साख ?

अर्थ संसार

आइतबार, १८ माघ २०८२, १० : ४७ मा प्रकाशित

देशभर १६५ वटा निर्वाचन क्षेत्र छन्। तर यो चुनावी माहोलमा एउटा मात्रै क्षेत्र छ, जहाँ देशको राजनीति आफैं आइपुगेको छ— झापा–५। कारण स्पष्ट छ। यहाँ प्रतिस्पर्धा भइरहेको छ दुई फरक युग, दुई फरक सोच र दुई फरक पुस्ताबीच ।

एकातिर— चार पटक प्रधानमन्त्री भइसकेका, एमाले अध्यक्ष केपी शर्मा ओली। अर्कोतिर— काठमाडौँ महानगरबाट उदाएका, नयाँ पुस्ताका प्रतिनिधि बालेन्द्र शाह, बालेन। यो भिडन्त केवल अंकगणितमा सीमित छैन । यो मूल प्रश्न हो— नेपाली राजनीति अब कुन दिशातर्फ मोडिन्छ ? 

झापा–५ लामो समयदेखि एमालेको बलियो किल्ला मानिँदै आएको क्षेत्र हो। केपी शर्मा ओली २०४८ सालदेखि यही क्षेत्रबाट संसदीय राजनीतिमा सक्रिय छन्। तीन दशकभन्दा बढी समय एउटै क्षेत्रमा निरन्तर राजनीति गर्नु सामान्य कुरा होइन। यस अवधिमा उनले मतदातासँग केवल चुनावी सम्बन्ध मात्रै होइन, सामाजिक र भावनात्मक सम्बन्ध पनि निर्माण गरेका छन्। धेरै झापाबासीका लागि ओली काठमाडौँमा बस्ने नेता मात्र होइनन्— आफ्नै गाउँ–समाजबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका प्रतिनिधि हुन्। ओलीको शक्ति संगठनमा मात्रै सीमित छैन। उनको सबैभन्दा ठूलो राजनीतिक पूँजी हो— अनुभव।

चार पटक प्रधानमन्त्री हुँदा उनले सत्ता संघर्ष, गठबन्धनको राजनीति, संविधान कार्यान्वयन, संघीय संरचनाको अभ्यास र छिमेकी मुलुकसँगको जटिल कूटनीति सबै भोगेका छन्। समर्थकहरूको बुझाइमा देशलाई स्थिर हातले हाँक्न सक्ने क्षमताका कारण नै ओली आज पनि राष्ट्रिय राजनीतिमा केन्द्रमा छन्।  तर ओलीको शैली सबैलाई मन पर्छ भन्ने छैन। उनका उखान–टुक्का, ठूला घोषणा र आक्रामक अभिव्यक्तिले आलोचना पनि जन्माएका छन्। तर समर्थकहरू यही शैलीलाई स्पष्टता र आत्मविश्वासको संकेत मान्छन्। भारतसँगको सीमा विवादमा देखाएको अडान, संविधान कार्यान्वयनका क्रममा लिएको राजनीतिक जोखिम र राष्ट्रिय स्वाभिमानका विषयमा दिएका अभिव्यक्तिले उनलाई धेरै मतदाताको नजरमा ‘कमजोर नझुक्ने नेता’को छवि दिएको छ।

झापा–५ का विकासका सवालमा पनि ओलीसँग प्रस्तुत गर्न सक्ने आधार छन्। सडक, पुल, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रबाट भएको लगानीलाई उनी आफ्नो राजनीतिक योगदानका रूपमा राख्छन्। धेरै स्थानीय मतदाताले ती पूर्वाधार प्रत्यक्ष देखेका र प्रयोग गरेका छन् भन्ने दाबी गर्छन्। यही कारण झापामा ओलीको समर्थन केवल पार्टी कार्यकर्तामा सीमित छैन— अनुभवी नेतृत्व खोज्ने मध्यम र वृद्ध मतदातामा पनि बलियो देखिन्छ। यही बलियो पृष्ठभूमिका बीच बालेन्द्र शाहको झापा–५ प्रवेशले चुनावी समीकरण हल्लाइदिएको छ। बालेनसँग सुरक्षित विकल्प थिए— काठमाडौँ, महोत्तरी वा अन्य क्षेत्र। तर उनले जोखिमपूर्ण मैदान रोजे। धेरैका लागि यही निर्णय नै राजनीतिक परिवर्तनको संकेत हो। तर जोखिम रोज्नु मात्र पर्याप्त हुँदैन— त्यसलाई जितमा बदल्ने क्षमता पनि चाहिन्छ। बालेननिकटहरू झापा–५ रोजाइलाई राजनीतिक गणनाको परिणाम भन्छन्। अघिल्लो निर्वाचनमा देखिएको मत विभाजन, युवाको असन्तोष र वैकल्पिक शक्तिप्रतिको आकर्षण उनीहरूको मुख्य आधार हो।

तर असन्तोष चुनाव जित्ने एउटा कारक हुन सक्छ, तर एकमात्र निर्णायक होइन। संगठन, निरन्तर सम्पर्क र स्थानीय मुद्दाको गहिरो बुझाइ अझै पनि निर्णायक हुन्छ— र यही पक्ष ओलीको तर्फ तुलनात्मक रूपमा बलियो देखिन्छ।
यो चुनाव प्रधानमन्त्रीका दुई दाबेदारबीचको प्रतीकात्मक भिडन्त पनि हो। ओली विगतका प्रधानमन्त्री हुन्— शासन प्रणालीको हरेक तह भोगेका नेता। बालेन भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भइरहेका छन्— जो परम्परागत राजनीतिक शैली तोड्ने दाबी गर्छन्। ओलीका समर्थक भन्छन्— देश चलाउनु प्रयोग होइन, जिम्मेवारी हो। अनुभवबिनाको परिवर्तनले जोखिम निम्त्याउन सक्छ।

बालेनले यही ‘अनुभव’लाई प्रश्न गरेका छन्। उनको भनाइ छ— लामो समय सत्ता सम्हाल्दा पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन आएन। काठमाडौँमा आफूले गरेको काम देखाएर उनले ‘डेलिभरी’को राजनीति अघि सारेका छन्। तर मतदाताको एउटा हिस्सा अझै भन्छ— स्थानीय तह चलाउनु र देश हाँक्नु एउटै कुरा होइन। यही बहस झापा–५ मा निर्णायक बन्ने देखिन्छ। बालेनको उम्मेदवारीले जात र भूगोलभन्दा माथिको राजनीति गर्ने सन्देश पनि बोकेको छ। पुर्ख्यौली मधेसी मूल भए पनि काठमाडौँमा हुर्किएका युवा नेता बालेन झापाबाट उठ्नु आफैंमा प्रतीकात्मक छ। तर ओलीका समर्थकहरूको नजरमा झापा आफैं राष्ट्रिय राजनीतिमा योगदान दिएको जिल्ला हो—र ओली त्यसको ज्वलन्त उदाहरण। उनीहरूका लागि ओलीको पराजय झापाको राजनीतिक हैसियतमा प्रश्न उठ्नुजस्तै हुन सक्छ।  यो चुनाव दुवैका लागि उच्च जोखिमयुक्त छ। बालेन हार्दा राजनीतिक रूपमा समाप्त हुँदैनन्— बरु युवाको प्रतिनिधि पात्रका रूपमा अझ चर्चित हुन सक्छन्। ओली हार्दा भने त्यसको अर्थ केवल एक सिट गुम्नु मात्र होइन— पुरानो पुस्ताको राजनीतिक प्रभुत्व कमजोर हुनु हो। यही कारण एमालेले झापा–५ लाई अत्यन्त संवेदनशील रूपमा लिएको देखिन्छ। यो प्रतिस्पर्धालाई केवल दुई व्यक्तिको भिडन्तका रूपमा हेर्नु अधुरो विश्लेषण हुनेछ। वास्तवमा यहाँ टकराइरहेका छन्— दुई फरक राजनीतिक संस्कार। एक— संगठन र संरचनामा आधारित, लामो समयदेखि स्थापित राजनीति। अर्को— युवाको असन्तोष, आकांक्षा, नैराश्य र तत्काल परिणामको अपेक्षाबाट जन्मिएको नयाँ राजनीतिक चेतना।

यही कारण यो चुनाव भावनात्मक मात्र होइन, बौद्धिक बहसको विषय पनि बनेको छ। ओलीको राजनीतिक जीवनले उनलाई केवल चुनाव जित्ने नेता होइन— सत्ता सञ्चालनको खेलाडी बनाएको छ।
गठबन्धन बनाउने, तोड्ने र पुनः निर्माण गर्ने क्षमता उनको सबैभन्दा ठूलो राजनीतिक सीप हो। त्यसैगरी ओलीको अर्को बलियो पाटो भनेको उनको वैचारिक स्पष्टता हो।
उनी कम्युनिस्ट आन्दोलनबाट आएका नेता हुन् र आफ्ना विचार लुकाउँदैनन्। समर्थकहरूको बुझाइमा उनी अवसरअनुसार धार बदल्ने नेता होइनन्। देश कठिन मोडमा पुगेका बेला स्पष्ट विचार र दृढ निर्णय आवश्यक पर्छ—
यही सोच ओलीप्रति आकर्षणको अर्को कारण बनेको छ।

तर ओलीको राजनीतिक यात्रामा एउटा गहिरो दाग पनि छ। भदौ २३–२४ मा भएको जेन–जी आन्दोलन। शान्तिपूर्ण आन्दोलनमा गएका निर्दोष युवाहरू सरकारको दमनका कारण मारिए। यो ओलीको राजनीतिक जीवनको सबैभन्दा अप्ठ्यारो मोड हो—जुन उनले चाहेर पनि मेटाउन सक्दैनन्। आजसम्म जेन–जी आन्दोलनलाई घुसपैठ र आतंकवादको नाम दिएर आफू पन्छिन खोजिरहेका छन् आएको छ। सार्वजनिक कार्यक्रममा ओली २४ गतेलाई आतंककारी भन्छन्— तर २३ गते, जुन दिन उनी सत्ता मै थिए, त्यो दिनको कुरा उनी सुन्न वा भन्न चाहँदैनन्।

आन्दोलनकै  सन्दर्भमा भन्ने हो  भने  बालेन पनि आलोचनाबाट मुक्त छैनन्। त्यतिबेलाका उनका अभिव्यक्तिले भिडलाई झनै उत्तेजित गराएको आरोप लागिरहेको छ। यसले बालेनका लागि यो प्रतिस्पर्धा थप चुनौतीपूर्ण बनाएको छ।
नयाँपनको प्रतीक मानिए पनि— राजनीतिक निरन्तरता र दीर्घकालीन दृष्टिकोणबारे उनले मतदातालाई विश्वस्त गराउनुपर्नेछ। भावनात्मक समर्थन र सामाजिक सञ्जालको लोकप्रियता उपयोगी हुन सक्छ— तर अन्तिम निर्णयमा धेरै मतदाता स्थायित्व र भरोसालाई पनि तौलिरहेका छन्। यही कारण झापा–५ को चुनावी माहोल अन्तिम क्षणसम्म अनिश्चित देखिन्छ। यो चुनावको नतिजाले एमाले र रास्वपा दुवैको भविष्यको रणनीतिमा प्रभाव पार्नेछ।

बालेनले बलियो उपस्थिति जनाए भने वैकल्पिक शक्तिहरूको आत्मविश्वास बढ्नेछ। ओलीले जिते भने स्थापित राजनीतिक दलहरू अझै कमजोर भइसकेका छैनन् भन्ने सन्देश जानेछ। दुवै अवस्थामा झापा–५ को परिणाम राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव पार्नेछ। 
झापा–५ को चुनाव कुनै साधारण प्रतिस्पर्धा होइन। यो वर्तमान र भविष्यबीचको संवाद हो। मतदाताले दिने फैसला केवल आजका उम्मेदवारका लागि होइन— भोलिको नेपाली राजनीतिक संस्कृतिका लागि पनि मार्गनिर्देशक हुनेछ।

अब निर्णय झापा–५ का मतदाताको हातमा छ। अनुभवी नेतृत्व र स्थिरता रोज्ने कि— नयाँ ऊर्जा र परिवर्तनको चाहना ?
यसको उत्तर यही क्षेत्रले दिनेछ।

 भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको