क्रिकेटमा एक छक्काको महत्व कति हुन्छ भन्ने कुराको महत्व अहिलेको अवस्थामा नेपाली क्रिकेट टिम र अझ भनौ लोकेश बमलाई जति कसलाई थाहा होला । यदि खेलको अन्तिम बलमा छक्का प्रहार गरेको भए अहिले नेपाली टोली विश्वकपमा टेष्ट मान्यता राष्ट्र इंग्ल्याण्डलाई हराउने इतिहास कायम गरिसकेको हुन्थ्यो ।
अघिल्लो विश्वकपमा पनि टेष्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकालाई हराउने सुनौलो मौका गुमाएको नेपालले फेरि इंग्ल्याण्डलाई पराजित गर्ने संघारमा पुगेर चुक्नु परो । नेपाली टोली पराजित भए पनि उक्त खेलको विषयमा विश्वभर निकै चर्चा भयो । बलियो टोली सँगको उक्त प्रदर्शन पछि नेपाली टोलीको मनोबल पक्कै पनि थप बलियो बनेको छ ।
अब विश्वकपको दोस्रो खेलमा नेपाली टोलीले इटालीसँग खेल्दैछ । भोलि हुने खेलमा नेपाल प्रष्ट जितको लक्ष्य सहित मैदानमा प्रवेश गर्ने छ । इटाली तुलनात्मक रुपमा कमजोर टोली हो । तर, क्रिकेटमा यसै भन्न सकिने अवस्था भने हुँदैन । नेपालले इंग्ल्याण्डसँग जुन खालको प्रदर्शन गरेको छ त्यस आधारमा भन्दा नेपालले बाँकी रहेका खेलमा आफू अनुकुलको नजिता निकाल्ने सम्भावना निकै बलियो छ ।
हेट टु हेड
नेपाल र इटाली विश्वकपमा अझ भनौ २० ओभरको खेलमा पहिलो पटक खेल्न लागेका हुन् । ५० ओभरको खेलमा भने यी दुई टोलीले एक आपसमा २ पटक खेलेका छन् । दुवै खेलमा नेपाल विजयी भएको छ । नेपालले इटालीसँग सन् २००५ र २०१० मा खेलको थियो । जुन एकदिवसीय खेल थियो । सन् २००५ मा आईसीसी विश्वकप क्वालिफायर सिरिजमा पहिलोपल्टको नेपालले इटालीको सामना गरेको थियो । जहाँ नेपाल ८८ रनको विजयी भएको थियो । त्यसको पाँच वर्षपछि डिभिजन ४ मा नेपाल र इटाली भिडेका थिए । उक्त खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो ।
इटली पहिलोपटक विश्वकप खेल्न लागेको टोली हो । युरोपियन छनोट पार गर्ने क्रममा इटलीले स्कटल्यान्डलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो । इटली आईसीसी टी–२० आई वरियतामा २७ औं स्थानमा छ । पछिल्लो समय इटली क्रिकेटमा उदाउँदो राष्ट्रका रूपमा रहेको छ । विश्वकपअघि आयरल्यान्डसँग टी–२० आई शृंखला खेलेको इटलीले शृंखला गुमाएपनि एक खेल जितेको थियो ।
त्यस्तै एसोसियटकै अर्को बलियो टोली नामिबियालाई पनि हराइसकेको छ । यस्तोमा नेपालले इटलीलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा लिने छैन । इटालीको टोलीमा दक्षिण अफ्रिकाबाट खेलिसकेका जेजे स्मट्स पनि समावेश छन् भने अस्ट्रेलियामा खेल्दै आएका ह्यारी मानेन्ती र बेन मानेन्ती दाजुभाईको जोडी रहेको छ । यीनिहरुले कुनै पनि बेला खेललाई आफ्नो पक्षमा पार्ने सामर्थ्य राख्दछन् । २० ओभरको खेलमा नेपालले हालसम्म इटालीसँग खेलेको छैन ।
इटाली विरुद्धको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल, दिपेन्द्र सिंह, लोकेश बम र सन्दीप लामिछाने प्रभाव पार्न सक्ने खेलाडीका रुपमा रहने सक्नेछन् । इंग्ल्याण्ड विरुद्धको खेलमा गरेको जस्तो प्रदर्शन गर्न सकेको खण्डमा इटालीलाई नेपालले सहजै हराउने आम दर्शकको बुझाइ छ । नेपालले इटालीलाई पराजित गरेको खण्डमा यो नेपालको विश्वकपमा तेस्रो जित हुन् छ ।
तेस्रो जितको खोजिमा नेपाल
विश्वकपमा इटालीसँगको खेल नेपालका लागि ८ औँ खेल हुने छ । जहाँ नेपाल तेस्रो जितको खोजिमा रहेको छ । हालसम्म नेपालले विश्वकपमा ७ खेल खेल्दा २ मा जित निकालेको छ भने ५ खेलमा हार व्यहोरोको छ । २०१४ को विश्वकपमा नेपालले खेलका तीन मध्ये २ खेलमा जित निकालेको थियो । दोस्रो सहभागिता रहेको २०२४ को विश्वकपमा भने नेपाल जित विहीन बन्न पुग्यो । यो पटकको विश्वकमा खेलेको पहिलो खेलमा नेपाल पराजित भएको छ । पहिलो विश्वकपमा अफगानस्तान र हंकङलाई पराजित गरेको नेपाल बंगलादेशसँग पराजित भएको थियो । जहाँ रन रेटका आधारमा नेपाल अर्को चरण प्रवेश गर्नबाट बञ्चित भएको थियो । २०२४ को विश्वकपमा भने नेपाल दक्षिण अफ्रिका, नेदरल्याण्ड र बंगलादेशसँग पराजित भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस