राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वालेन्द्र शाहले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन् ।
झापा–५ का मुख्य समस्या र एजेन्डालाई समेटेर तयार पारिएको उक्त वाचा पत्रमा उनले सबैभन्दा पहिले भ्रष्टाचार र बेथितिविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता जनाएका छन्। 'राजनीतिलाई पेशा होइन, सेवा बनाउनेछु,' भन्दै उनले जनताको विश्वासलाई परिणाममा बदल्ने वाचा गरेका छन्। सार्वजनिक सेवा चुस्त–दुरुस्त बनाउने र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने उनको मुख्य संकल्प छ।
शिक्षातर्फ उनले विद्यालय छोड्ने दर शून्यमा झार्ने लक्ष्य राखेका छन्। सामुदायिक विद्यालयहरूमा ‘स्मार्ट क्लास’ र आधुनिक प्रयोगशाला स्थापना गर्ने योजना पनि अघि सारेका छन्। ताकि सरकारी विद्यालय नै गुणस्तरीय शिक्षाको केन्द्र बनोस्। स्वास्थ्य क्षेत्रमा उनले विपन्न परिवारका लागि निःशुल्क उपचारको ग्यारेन्टी गर्ने बताएका छन्। दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने, साथै 'घर–घर स्वास्थ्य सेवा' कार्यक्रममार्फत ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने प्रतिबद्धता पनि गरेका छन्।
कृषिलाई झापा–५ को मेरुदण्ड मान्दै उनले आधुनिकीकरणमा जोड दिएका छन्। ‘कन्काई–रतुवा सिँचाइ योजना’ विस्तार गर्ने र ‘एक पालिका, एक शीत भण्डार’ अवधारणा लागू गर्ने योजना वाचा पत्रमा उल्लेख छ । जसले किसानलाई उत्पादन र बजारीकरणमा सहजता दिने अपेक्षा गरिएको छ।
पूर्वाधार विकासतर्फ दमक–रवि–चिसापानी सडकको पूर्णता, हुलाकी सडक तथा पुलहरूको समयमै निर्माण, र दमकलाई ‘स्मार्ट सिटी’ को रूपमा विकास गर्न आवश्यक संरचना निर्माण गर्ने योजना अघि सारिएको छ। त्यस्तै, भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि कानुन निर्माण गरी व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने पनि उनले बताएका छन्। अन्त्यमा उनले मतदातासँग अपिल गर्दै भनेका छन्, 'जनअपेक्षा अनुसार काम गर्न आएको हुँ, काम गर्न दिनुहोला।'


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस