नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार दाङलाई शैक्षिक तथा प्रविधिक हबका रूपमा विकास गर्ने अभियान तीव्र रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार दाङको समग्र विकास कुनै एक राजनीतिक दलको एजेन्डा नभई सम्पूर्ण जिल्लाबासीको साझा सरोकारको विषय हो।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पसको निर्माण प्रक्रिया अहिले तीव्र गतिमा अगाडि बढाइएको उनले जानकारी दिए। ३० करोड रुपैयाँ स्रोत सुनिश्चित भएपछि २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता सम्पन्न भएको उनको भनाइ छ।
२०८४ सालभित्र निर्माण कार्य सकी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उनले अत्याधुनिक पूर्वाधारसहितको क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार यो परियोजनाले दाङलाई ‘ब्याङ्लोर मोडल’ अनुरूप नेपाली ‘सिलिकन भ्याली’ अर्थात् ‘दाङ भ्याली’का रूपमा विकास गर्ने आधार तयार गर्नेछ।
‘जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लाबासीको भविष्यसँग जोडिएको विषय हो,’ उनले भनेका छन् । पोखरेलले दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने दीर्घकालीन सोचसहित काम भइरहेको बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस