नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति एमाले नेतृत्व थप आक्रामक बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले पक्राउलाई ‘अपहरण शैलीको गैरकानुनी कदम’ भन्दै विरोध जनाएको केही समयपछि महासचिव शङ्कर पोखरेलले पनि घटनालाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले कुनै पनि विषयमा निष्पक्ष अनुसन्धान, तथ्य र प्रमाण संकलन तथा कानुनी प्रक्रिया पूरा भएपछि मात्रै कारबाही अघि बढाइनुपर्ने बताए। तर पौडेललाई भने पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला नियोजित रूपमा नियन्त्रणमा लिइएको उनको दाबी छ।
पोखरेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकले केही समयअघि पौडेलसँग टेलिफोन संवाद गरी काठमाडौं फर्किएपछि सम्पर्क गर्न आग्रह गरेको र त्यसको केही समयमै सुर्खेत प्रहरीलाई नियन्त्रणमा लिन पत्राचार गरिएको घटनाले अनुसन्धान निकायहरू स्वतन्त्र नभई ‘अदृश्य शक्ति केन्द्र’को प्रभावमा चलेको आशंका बलियो बनाएको उल्लेख गरेका छन्।
उनले राज्यका अनुसन्धान तथा न्यायिक निकायहरू स्वतन्त्र, निष्पक्ष र कानुनसम्मत हुनुपर्नेमा जोड दिँदै राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताका लागि अनुसन्धान प्रक्रिया प्रयोग हुन नहुने बताएका छन्। अनुसन्धान र अभियोजन कानुन तथा प्रमाणमा आधारित हुनुपर्ने उनको भनाइ छ।
महासचिव पोखरेलले एमाले न्यायपूर्ण समाज र निष्पक्ष न्यायको पक्षमा दृढ रहेको उल्लेख गर्दै वास्तविक दोषी कानुनी दायरामा आउनुपर्ने तर निर्दोषलाई पूर्वाग्रहका आधारमा निशाना बनाइन नहुने धारणा राखेका छन्। उनले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई एमालेले पूर्वाग्रही र प्रतिशोधपूर्ण कदमका रूपमा बुझेको समेत बताएका छन्।
यसअघि एमाले अध्यक्ष ओलीले पनि प्रेस वक्तव्य जारी गर्दै पौडेललाई ‘अपहरण शैलीमा गिरफ्तार गरिएको’ आरोप लगाएका थिए। ओलीले वर्तमान सरकार विपक्षी दलका नेताहरूमाथि प्रतिशोधपूर्ण ढंगले प्रस्तुत भएको दाबी गर्दै यस्ता गतिविधिविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गरिने चेतावनी दिएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस