नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन् । रास्वपासँग वैकल्पिक शक्तिसँगै वैकल्पिक नीति हुने अपेक्षा जनतामा रहे पनि हालसम्म त्यसअनुसारको कार्यशैली नदेखिएको उनको भनाइ छ।
उनले भनेका छन्, ‘वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपासँग वैकल्पिक नीति पनि होला भनेर जनताले विश्वास गरे। तर, उनीहरूको कार्यशैली हेर्दा अहिलेसम्म कुनै स्पष्ट नीति, योजना र दृष्टिकोण देखिँदैन। उनीहरू स्पष्ट मार्गचित्र विना नै भयको सिद्धान्त का बलमा सत्तालाई एउटा प्रयोगशालाका रूपमा अभ्यास गरिरहेका छन्।’
प्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ ग्रहणपछि सस्तो लोकप्रियता कमाउने उद्देश्यका साथ अघि बढेको उनको बुझाइ छ। अहिले उनीहरूको कार्यशैलीमा गम्भीर विरोधाभास देखिन थालेको जिकिर गरेका छन् । उनले नयाँ सरकार गठन भएयता आर्थिक सुधारका संकेत नदेखिएको, बजारमा महँगी र कालोबजारी बढेको तथा हत्या, हिंसा र अन्य अपराधका घटनामा वृद्धि भएको आरोप लगाए । चुनावका माध्यमबाट लोकप्रिय जनादेश पाउन सफल रास्वपाले सस्तो लोकप्रियतावाद र त्रासको बलमा केही समय सत्ता चलाउन सकिएपनि जनतालाई डराएर वा भ्रममा राखेर देशमा सुशासन र आर्थिक समृद्धि ल्याउन असम्भव हुने कुरा बुझ्नुपर्ने बताए।
उनले थपेका छन्, ‘सरकारप्रतिको आश र त्रास का कारण पीडितहरूको न्यायको आवाजसमेत कमजोर बन्न पुगेको छ। परिणामतः हिजोसम्म पीडितका पक्षमा निर्भीकताका साथ समर्थन गर्ने आम मानिसहरू खुलेर बोल्न सकेका छैनन्।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस