Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्यसहित विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक, कृषि र उद्यमशीलता मुख्य एजेन्डा

अर्थ संसार

शनिबार, १६ फागुन २०८२, १० : २० मा प्रकाशित

स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्यसहित विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक, कृषि र उद्यमशीलता मुख्य एजेन्डा

नवलपरासी (सुस्ता पूर्व) प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आगामी कार्यकालका लागि आफ्ना विकास प्राथमिकता र योजनासहितको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। यसअघि सोही क्षेत्रबाट निर्वाचित भइसकेका चौधरीले बदलिँदो राष्ट्रिय परिस्थिति, युवा पुस्ताको बढ्दो अपेक्षा तथा स्थानीय जनताको विकास चाहनालाई केन्द्रमा राखेर नयाँ प्रतिबद्धता सार्वजनिक गरिएको बताएका छन्।

नेपालबाट फोर्ब्स पत्रिकाको डलर अर्बपति सूचीमा सूचीकृत उद्योगपति समेत रहेका चौधरीले देशको आर्थिक तथा राजनीतिक परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला युवापुस्ताले उठाएको सुधार र परिवर्तनको मागलाई सम्बोधन गर्ने उद्देश्यले प्रतिज्ञापत्र तयार पारिएको उल्लेख गरेका छन्। उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता, पूर्वाधार, पर्यटन तथा सामाजिक सुरक्षालगायत बहुआयामिक क्षेत्रलाई समेटेर योजना निर्माण गरिएको हो।

शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै प्रत्येक पालिकामा कम्तीमा एउटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, ई–लाइब्रेरी विस्तार, विज्ञान तथा प्रविधि प्रयोगशाला स्थापना तथा विद्यालय तहदेखि नै प्राविधिक र सीपमूलक शिक्षालाई प्रवर्द्धन गर्ने योजना प्रतिज्ञापत्रमा समावेश गरिएको छ। साथै शिक्षक तथा शैक्षिक जनशक्तिका समस्यालाई सम्बोधन गर्दै गुणस्तरीय शिक्षा प्रणाली निर्माणमा पहल गरिने जनाइएको छ।

स्वास्थ्य सेवाको पहुँच विस्तारलाई अर्को प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहसम्म क्लिनिक सञ्चालन, खोप केन्द्रको स्तरोन्नति, ट्रमा सेन्टर तथा नगर अस्पताल सञ्चालनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आधारभूत स्वास्थ्य सेवा सहज बनाउने योजना पनि समेटिएको छ।

कृषि क्षेत्रलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यसहित नवलपरासीलाई केरा तथा उखु उत्पादन केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ। सिँचाइ सुविधा विस्तार, कृषकलाई सहुलियत ऋण उपलब्ध गराउने, बीउबिजन तथा मलमा अनुदान व्यवस्था गर्ने र कृषि बीमालाई प्रभावकारी बनाउने कार्यक्रम अघि सारिएको छ। कृषि उत्पादनको ग्रेडिङ र ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने, चिस्यान केन्द्र तथा भण्डारण पूर्वाधार निर्माण गर्ने र बाँझो जमिन उत्पादनमा ल्याउने योजना पनि उल्लेख गरिएको छ।

युवालाई लक्षित गर्दै ‘युवा कृषि उद्यम कार्यक्रम’ सञ्चालन गर्ने, स्थानीय स्रोतमा आधारित साना तथा मझौला उद्योग स्थापना प्रोत्साहन गर्ने तथा औद्योगिक ग्राम विकास गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ। वैदेशिक रोजगारीमा जाने युवाका लागि सीप प्रमाणीकरण कार्यक्रम सञ्चालन गर्ने तथा विदेशबाट फर्किएका युवालाई स्वदेशमै उद्यम र लगानीतर्फ आकर्षित गर्ने नीति लिइने जनाइएको छ।

पूर्वाधार विकासतर्फ क्षेत्रीय सडक सञ्जाल विस्तार, रिङरोड निर्माण, मुख्य सडक स्तरोन्नति तथा वैकल्पिक मार्ग विकासलाई प्राथमिकतामा राखिएको छ। धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य पनि प्रस्तुत गरिएको छ।

सामाजिक सुरक्षातर्फ महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायको संरक्षण र सशक्तीकरणमा जोड दिँदै सुरक्षित मातृत्व, पोषण सुधार तथा सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउँदै सुशासन प्रवर्द्धन गर्ने, जनगुनासो सुनुवाइ प्रणाली प्रभावकारी बनाउने तथा भ्रष्टाचार नियन्त्रणमा कडाइ गरिने चौधरीको प्रतिज्ञापत्रमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको