प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा परिणाम सार्वजनिक भएको छ। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भएका छन्।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै प्राप्त गरेका छन्।
यस परिणामअनुसार बालेन शाहले ओलीलाई ४९ हजार ६१४ मतको ठूलो अन्तरले पराजित गरेका छन्।
मतपरिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ तेस्रो स्थानमा रहेका छन्। उनले ९ हजार २३३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरिया चौथो स्थानमा रहेकी छन्, जसले १ हजार ८२१ मत प्राप्त गरेकी छन्।
झापा–५ क्षेत्रबाट केपी शर्मा ओली यसअघि पटक–पटक प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका थिए। तर यसपटक भने नयाँ उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका बालेन शाहसँग उनी पराजित भएका हुन्।
बालेन शाह पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई भावी प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा प्रस्तुत गर्दै चुनावी प्रचार अभियान सञ्चालन गरेको थियो।
यसअघि काठमाडौँ महानगरपालिकाको मेयर पदमा कार्यरत रहेका बालेन शाहले प्रतिनिधि सभा निर्वाचनको घोषणा भएपछि उक्त पदबाट राजीनामा दिँदै संघीय राजनीतिमा प्रवेश गर्ने निर्णय गरेका थिए। त्यसपछि उनी संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस