पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका नेताहरूले कडा प्रतिक्रिया जनाउन थालेका छन्।
यसैक्रममा एमालेका सचिव महेश बस्नेत ले सामाजिक सञ्जालमार्फत सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका छन्।
बस्नेतले आफ्नो फेसबुक स्टाटसमार्फत नेपाल विगतमा राजनीतिक बन्दी नभएको मुलुकका रूपमा चिनिएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले लोकतान्त्रिक अवस्थाप्रति गम्भीर चिन्ता पैदा गरेको बताएका छन्।
उनले वर्तमान सरकारको कदमलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका छन्। साथै गृहमन्त्री सुदन गुरुङ को नियुक्तिप्रति पनि प्रश्न उठाउँदै अनुभवहीन नेतृत्वका कारण स्थिति जटिल बन्दै गएको टिप्पणी गरेका छन्।
बस्नेतले राज्य संयन्त्रको प्रयोगप्रति समेत असन्तुष्टि व्यक्त गर्दै लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको भन्दै आपत्ति जनाएका छन्।
उनले प्रतिशोधमुखी राजनीति रोक्न र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आन्दोलन सुरु गरिने जानकारी दिएका छन्। उनका अनुसार बिहान ८:३० बजे बस्ने पार्टी सचिवालय बैठकपछि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस