नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको प्रभाव र नियन्त्रण क्षीण बन्दै गएको संकेत देखिएको छ। सचिवालय बैठकमा उठेका धारणा र पदाधिकारीहरूको अभिव्यक्तिले पार्टीभित्र नेतृत्व, कार्यशैली र भावी दिशालाई लिएर गम्भीर बहस सुरु भएको देखाएको हो।
शुक्रबारदेखि अध्यक्ष ओली निवास गुण्डुमा जारी सचिवालय बैठकमा बोल्ने अधिकांश पदाधिकारीले पार्टीलाई नयाँ ऊर्जा, सुधार र फरक ढंगको नेतृत्व आवश्यक रहेको धारणा राखेको स्रोतले जनाएको छ।
बैठकमा महासचिव शंकर पोखरेलले समेत पार्टीलाई वर्तमान अवस्थाबाट अघि बढाउन नयाँ सोच र परिवर्तनमुखी दृष्टिकोण आवश्यक रहेको बताएका छन्। स्रोतका अनुसार उनले पार्टीभित्र सुधारको माग ठूलो रूपमा उठिरहेको भन्दै नेतृत्वले त्यसलाई सम्बोधन गर्नुपर्ने संकेत गरेका छन्।
बैठकमा हालसम्म धारणा राखेका नेताहरूमध्ये अध्यक्ष ओलीको पक्षमा स्पष्ट रूपमा उभिने नेता सीमित देखिएको स्रोतको दाबी छ। केही नेताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पार्टीभित्र नेतृत्व हस्तान्तरण, कार्यशैली सुधार र नयाँ राजनीतिक सन्देश आवश्यक रहेको बताएका छन्।
पार्टीभित्र लामो समयदेखि नेतृत्व सम्हाल्दै आएका ओलीमाथि पछिल्ला राजनीतिक घटनाक्रम, संगठनात्मक चुनौती र जनस्तरमा देखिएको दबाबका कारण आन्तरिक प्रश्नहरू बढ्दै गएको विश्लेषण एमाले वृत्तमै हुन थालेको छ।
बैठकमा महासचिव, उपमहासचिव तथा सचिवहरूले पार्टी सञ्चालन, निर्णय प्रक्रिया, संगठन परिचालन र आगामी रणनीतिबारे आ–आफ्ना धारणा राखेका छन्। केही नेताहरूले पार्टीलाई थप चलायमान र परिणाममुखी बनाउन नेतृत्वले नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यता अध्यक्ष ओलीले भने बैठकमा पार्टी एकता कायम राख्नुपर्ने, चुनौतीपूर्ण परिस्थितिमा नेतृत्वमाथि अनावश्यक प्रहार गर्नु उपयुक्त नहुने र संगठनलाई विभाजित गर्ने गतिविधिबाट सावधान रहनुपर्ने धारणा राख्दै आएका छन्।
उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा अहिलेसम्म महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जनाले आफ्नो धारणा राखिसकेका छन्। बाँकी नेताहरूले विचार राखेपछि प्रस्तावित कार्यसूची र निष्कर्षबारे निर्णय प्रक्रिया अघि बढ्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस