धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न आवश्यक पर्ने टिएमएस खाताप्रति लगानीकर्ताको आकर्षण निरन्तर बढिरहेको देखिएको छ । पछिल्ला केही वर्षयता सेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढेसँगै टिएमएस खाता खोल्नेको संख्या पनि नयाँ उचाइमा पुगेको छ ।
नेपाल धितोपत्र बोर्डको ३४औँ वार्षिकोत्सव विशेषाङ्कमा प्रकाशित तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म टिएमएस खाता खोल्ने लगानीकर्ताको संख्या ३२ लाख ७८ हजार पुगेको छ ।
२०७७ साल असार मसान्तसम्म दोस्रो बजारमा कारोबारका लागि टिएमएस खाता लिने लगानीकर्ताको संख्या करिब ३५ हजारको हाराहारीमा मात्र थियो । त्यसपछि भने धितोपत्र बजारप्रति सर्वसाधारणको आकर्षण तीव्र रूपमा बढेको देखिन्छ ।
२०७८ असारसम्म यस्तो खाता खोल्नेको संख्या ७ लाख ९५ हजार ९३४ पुगेको थियो । त्यसपछि आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म यो संख्या १४ लाख ८५ हजार ४६० पुगेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म १७ लाख ६३ हजार ३०१ लगानीकर्ताले टिएमएस खाता खोलिसकेका थिए ।
आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म टिएमएस खाताको संख्या बढेर २२ लाख १६ हजार २४७ पुगेको थियो । त्यसको एक वर्षपछि अर्थात् आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म यो संख्या २६ लाख ३३ हजार ५१० पुगेको बोर्डको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप वृद्धि हुँदै टिएमएस खाता संख्या ३२ लाख ७८ हजार पुगेको छ । यसले नेपाली धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता विस्तार हुँदै गएको संकेत गरेको छ ।
टिएमएस प्रणालीमार्फत लगानीकर्ताले अनलाइन माध्यमबाट सेयर खरिद–बिक्री गर्न सक्ने व्यवस्था छ । प्रविधिमैत्री कारोबार प्रणाली, आईपीओप्रतिको बढ्दो आकर्षण तथा वित्तीय साक्षरतामा आएको विस्तारका कारण पछिल्ला वर्षहरूमा टिएमएस खाताको संख्या तीव्र गतिमा बढेको विश्लेषण गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस