नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनाको वित्तीय विवरणले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर बजारमा प्रवाह हुने मार्जिन नेचर लोन (सेयर धितो कर्जा) मा ११ प्रतिशतको वृद्धि भएको देखाएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मार्जिन कर्जा १५ अर्ब ४५ करोड २६ लाख रुपैयाँले बढेर कुल १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा मार्जिन कर्जामा २७.८ प्रतिशतको उच्च वृद्धि भई कुल २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ थपिएको थियो । तुलनात्मक रूपमा चालु आवको वृद्धिदर गत आवको भन्दा कम देखिए पनि, कर्जा प्रवाहको कुल आकार र त्यसले बजारमा पार्ने प्रभाव भने अझै महत्त्वपूर्ण हुने देखिन्छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार, मार्जिन नेचर लोनलाई चार मुख्य श्रेणीमा विभाजन गरिएको छ । जसमध्ये १ करोड रुपैयाँभन्दा बढीका कर्जाको हिस्सा सबैभन्दा ठुलो छ । चालु आर्थिक वर्षको सात महिनामा १ करोड रुपैयाँभन्दा बढीका कर्जामा १० अर्ब ७५ करोड २७ लाख रुपैयाँको वृद्धि देखिएको छ । यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मका कर्जामा २ अर्ब ४८ करोड २७ लाख रुपैयाँको वृद्धि भई कुल १८ अर्ब ५१ करोड २५ लाख रुपैयाँ पुगेको छ । यो १५.५ प्रतिशतको वृद्धि हो । जुन कुल वृद्धिमध्ये दोस्रो ठुलो हिस्सा हो ।

२५ लाखदेखि ५० लाख रुपैयाँसम्मका कर्जा ९.५ प्रतिशतले बढेर १९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यसमा १ अर्ब ६६ करोड ८३ लाख रुपैयाँको वृद्धि देखिएको छ । साना लगानीकर्ताहरूले लिने २५ लाख रुपैयाँभन्दा कमका कर्जा ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यसमा ५४ करोड ८९ लाख रुपैयाँको वृद्धि भएको छ ।
मार्जिन कर्जामा ठुला कर्जाको बाहुल्यताले सेयर बजारमा केही महत्त्वपूर्ण प्रभाव पार्छ। एकातिर, यसले बजारमा तरलता बढाउन र कारोबारको मात्रा वृद्धि गर्न मद्दत गर्छ । अर्कोतर्फ, ठुला लगानीकर्ताहरूले बढी ऋण लिएर कारोबार गर्दा बजारमा अस्थिरता र जोखिम पनि बढ्न सक्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस