नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताले दिएको मतलाई सम्मान गर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत मतदाताप्रति धन्यवाद दिँदै उनले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उल्लेख गरेका छन्।
झापा–५ बाट उम्मेदवार रहेका ओली स्वयं पनि सो क्षेत्रमा पराजित भएका छन्। यस निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ जम्मा ९ सिट मात्रै जित्न सफल भएको छ।
ओलीले भनेका छन्,‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।'
उनले एमालेको पक्षमा मतदान गर्नेहरंलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्,‘तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन हामी जनताकै बीचमा रहनेछौँ । जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस