नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०८२ भदौ २४ गते आफ्नो निवासमा भएको तोडफोड, आगजनी र लुटपाटलाई पूर्णतया ‘षड्यन्त्र’ भएको बताएका छन्। देउवाले आयोगसमक्ष दिएको बयानमा घटनामा संलग्न जोसुकै व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्। उनले उक्त घटनामा आफूलाई षड्यन्त्र भएको स्पष्ट देखिएको भए पनि कसले त्यसको योजनापट्टि काम गर्यो भन्नेबारे जानकारी नभएको बताए ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाइएको भए पनि सार्वजनिक गरिएको छैन। केही अंशहरू बुधबार जनआस्था पत्रिकाले सार्वजनिक गरेपछि अन्य सञ्चारमाध्यमहरूले पनि ती अंशहरू सार्वजनिक गरिरहेका छन्।
प्रतिवेदनअनुसार, भदौ २३ गते देउवा आफ्नो निवास बूढानीलकण्ठ–२, बासुकी मार्गमा थिए। त्यस साँझ उनी बालुवाटार पुगेका र तत्कालीन प्रधानमन्त्रीसँग सामाजिक सञ्जालमा प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। तर, कुनै औपचारिक बैठकमा आफू सहभागी नभएको स्पष्ट पारे। भदौ २४ गते बिहान करिब १० बजे उनका निवासमा प्रदर्शनकारीहरू जम्मा भए, सुरक्षाकर्मीले प्रयास गर्दा पनि अवस्था नियन्त्रणमा आएन र उनीहरूमाथि हातपात भयो। केही सहयोगीहरू (जेनजी समूह) को सहायतामा मात्रै राति सुरक्षित स्थानमा जान सकेको बयानमा उल्लेख गरेका छन् ।
निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबारे प्रहरीले विवरण संकलन गरेको भए पनि त्यसपछि कारबाहीको अवस्था के छ भन्नेबारे देउवालाई जानकारी छैन। सामाजिक सञ्जालमा घरमा ठूलो परिमाणमा नगद फेला परेको भन्ने प्रचारको खण्डन गर्दै उनले भनेका छन् कि रकम ठूलो थिएन र बाहिर आएका विवरण भ्रामक हुन सक्ने वा एआई प्रयोग गरी तयार पारिएको हुन सक्नेछ। प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप भएको आरोपलाई उनले अस्वीकार गर्दै आफ्नो पक्षपातपूर्ण हस्तक्षेप कहिल्यै नभएको स्पष्ट पारेका छन्। भदौ २३–२४ का घटनामा प्रहरी मूल्यांकनमा कमजोरी हुन सक्ने भए पनि त्यसलाई राजनीतिक हस्तक्षेपसँग जोड्नु उचित नरहेको उनको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस