संघीय संसदअन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक आज बिहीबार बस्दैछ। तर सांसदहरूको सेवा सुविधा भने चैत १२ गतेदेखि नै लागू भइसकेको छ। संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यहरूले उपलब्ध गराएको बैंक खातामा चैत मसान्तभित्र पहिलो महिनाको सेवा सुविधाबापतको रकम जम्मा गरिनेछ। पहिलो महिनामा भने उनीहरूले १८ दिनको मात्र सुविधा पाउनेछन्। १२ गते शपथ लिएको मितिबाट पदबहाल सुरु भएको मानिने र १३ गतेदेखि सेवा सुविधा लागू भएको हो।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार सांसदहरूले मासिक ५५ हजार २३० रुपैयाँ पारिश्रमिक पाउँछन्। साथै प्रत्येक महिना १ हजार रुपैयाँ विशेष भत्ता पनि प्रदान गरिन्छ। बैठकमा उपस्थित भएबापत उनीहरूले प्रतिवैठक १ हजार रुपैयाँका दरले अतिरिक्त भत्ता पाउने व्यवस्था छ। यस बाहेक सञ्चार सुविधाका लागि ३ हजार, आवासका लागि १८ हजार, फर्निचरका लागि १५ हजार, यातायातका लागि १ हजार तथा बिजुली र धाराका लागि २ हजार रुपैयाँ उपलब्ध गराइन्छ। काठमाडौं उपत्यका बाहिर जाँदा दैनिक २ हजार ५ सय रुपैयाँ भ्रमण भत्ता पनि दिइन्छ।
यात्राका क्रममा सांसदहरूको १० लाख रुपैयाँसम्मको बीमा व्यवस्था गरिएको छ। पदमा रहँदाकै अवस्थामा मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिन्छ भने अशक्त भएमा सम्बन्धित सदस्य वा परिवारलाई ५० हजार रुपैयाँ सहयोग दिने व्यवस्था पनि ऐनमा उल्लेख गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस